काठमाडौं । सङ्घीय संसद्को आइतबार अपराह्नदेखि सुरु भएको वर्षे अधिवेशनको बैठकको पहिलो दिन बेग्लै परिदृश्य देखियो ।
निर्धारित समय ४ बजेभन्दा १५ मिनेट ढिला गरी सुरु भएको बैठकको सुरुमै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आकस्मिक समय लिएर बोल्ने अनुमति मागे । लगत्तै स्वतन्त्र सांसद अमेरशकुमार सिंहले उभिएर केही भन्न खोज्दै थिए । त्यही बीचमा नेकपा एमालेका सांसद रघुजी पन्तले पनि बोल्नका लागि सभामुखतिर इसारा गरे ।
यसरी उठेर बोल्न चाहने सांसदको सङ्ख्या बाक्लो भएपछि सभामुखले पटक–पटक बैठक सञ्चालनका लागि सहजीकरण गरिदिन सांसदहरुलाई आग्रह गरे । “माननीय सदस्यहरु दोस्रो अधिवेशनको पहिलो बैठक सुरु भइरहेको छ, यसका केही नियम र पद्धतिहरु छन् यसलाई पूरा गरेपछि बोल्नुहोला, पहिलो बैठक औपचारिक सुरु हुन दिनूस् बाँकी के कसरी चलाउने हो सल्लाह गरेर गरुँला”, सभामुख घिमिरेले भने ।
सभामुखले उठेका सांसदलाई बसेर बैठक सुरु हुने वातावरण बनाउन अनुरोध गरे । तर, सभामुखको आग्रहलाई बेवास्ता गर्दै केही सांसदहरुले निरन्तर बोल्नका लागि उभिएर सङ्केत गरिरहे । “संसद्को कारबाही सुरु गरेपछि आफ्नो कुरा राख्नुहोला म बोल्नका लागि समय निर्धारण गर्नेछुस यस्तो साङ्केतिक जुहारी करिब १० मिनेट चलेपछि सभामुखले बैठक प्रारम्भ भएको घोषणा गर्दै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाए । त्यसपछि बैठकमा लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि जीवन अर्पण गर्ने ज्ञात अज्ञात शहीदहरुप्रति बैठकले १ मिनेट मौनधारण गरियो ।
बैठकमा पहिलो वक्ताका रुपमा सांसद प्रेम सुवालले भूटानी शरणार्थीका विषयमा दोषीलाई कानुनी दायरामा ल्याउनेदेखि नागरिकता र खोप इञ्जिनियरिङ कलेजको विषय उठाए । सांसद अमरेशकुमार सिंहले सर्वदलीय भ्रष्टाचार हुने गरेको आरोप लगाउँदै पछिल्लो भूटानी शरणार्थी प्रकरणमा दोषी ठहरिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने जिकिर गरे । सबै भ्रष्टाचारको उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कानुनी दायरामा ल्याउन उनले माग गरे ।
एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भ्रष्टाचारका सवालमा ‘यो टेलर मात्रै हो फिल्म देखाउन बाँकी नै छ’ भन्ने विषयको प्रसङ्ग उल्लेख गर्दै मुलुकमा भएका सबै किसिमका भ्रष्टाचार र अनियमितताप्रति आफ्नो पार्टी एकताबद्धका साथ दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने पक्षमा रहेको बताए । “हामी फिल्म हेर्न टिकट काटेर बसेका छौँ फिल्म देखाउनूस् वाइडबडी, यतिलगायत सबै काण्डको छानबिन गरियोस्”, उनले भने ।
एमालेकै सचेतक महेशकुमार बर्तौलाले यतिबेला सिङ्गो देशको ध्यान नेपालीलाई भूटानी शरणार्थी बनाएर अर्बौैैैँ घोटला गर्ने र दोषीलाई उम्काउने खेल भइरहेको भन्दै यस्ता घटनाको सत्यपक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे ।
एमाले सांसद सूर्य थापाले भ्रष्टाचारको फिल्म हेर्न आफू पनि तयार रहेको बताए । त्यसपछि सांसद बोलिसकेपछि पुनः सभामुखले सांसदलाई बस्न र नियम पालना गर्न अनुरोध गरे ।
जवाफमा सत्तारूढ नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिपक्षी दलका सांसदहरुले छापामार शैलीमा आफ्ना कुरा राखेको भन्दै प्रमुख प्रतिपक्ष साँच्चिकै भ्रष्टाचारीलाई कारबाही गर्न चाहेको हो भने इमान्दार हुन आग्रह गरे । उनले प्रधानमन्त्रीले राखेका कुरा खिसिटिउरी गरिरहनुले विषयलाई विषयान्तर गर्ने र खिसिटिउरी गरिरहेको भन्दै इमान्दारीपूर्वक रायामाझीलाई पक्राउ गर्न सहयोग गरेको खण्डमा काफी हुने उल्लेख गरे ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘नेपालको राजनीतिमा जो बढी बदमास त्यही बढी डकार्छ’ भन्दै भ्रष्टाचार र अनियमिततामा दोषी जोकोहीलाई संसदीय समिति बनाएर कारबाही गर्न माग गरे । एमाले सांसद रघुजी पन्तले आरोप–प्रत्यारोप चलेको भन्दै पार्टी संविधान र कानुनको पालनामा प्रतिबद्ध रहेको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले भ्रष्टाचारीलाई उम्कन दिन नहुने बताए ।
कांग्रेसका सांसद सुनील शर्मा भूटानी शरणार्थीका विषयमा पक्राउ परेकालाई संसद्मा ल्याएर बयान दिलाउन सभामुखको ध्यानाकर्षण गराए । सांसद सरिता प्रसाईं भ्रष्टाचारीलाई कुनै पनि पार्टीले संरक्षण गर्नु हुन्न, निर्दोष उम्कनु हुन्न । सांसद रञ्जुकुमारी झाले भ्रष्ट्राचारको मामिलामा सबै पार्टीले समान धारणा बनाएर दोषीलाई कानुनी दायरामा ल्याइनुपर्ने बताए । उनले नागरिकतासम्बन्धी आम नेपालीको समस्या भएकाले यसमा राजनीति नगरी संविधान र कानुनसम्मत ढङ्गले अघि बढाएर पीडित जनतालाई न्याय दिनुपर्ने औँल्याए ।
सांसद आरजु राणाले आफ्नो चरित्र हत्या गर्ने अभिप्रायले विभिन्न टीकाटिप्पणी भइरहेको बताए । उनले सबै नेता र सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्न पनि माग गरे । सांसद हरि ढकालले विगत ३३ वर्षमा धेरै भ्रष्टाचारका काण्ड भएको भन्दै आयोग बनाएर भ्रष्टाचारीको छानबिन हुनुपर्ने माग गरे ।
सांसद दीपकबहादुर सिंहले सत्तापक्ष र प्रतिपक्षले भ्रष्टाचार र अनियमितताको विषयलाई प्रभावकारी ढङ्गले उठाउन नसकेको बताए । सांसदहरुले आकस्मिक समयमा समसामयिक विषयमा समधारणा राखिसकेपछि बैठक कार्यसूचीमा प्रवेश गरेको थियो ।
FACEBOOK COMMENTS