काठमाडौं । राष्ट्रिय सभाका २० सांसदको कार्यकाल सकिएको छ । शुक्रबारदेखि उनीहरूको कार्यकाल सकिनुका साथै शनिबार नवनिर्वाचित सांसदले शपथग्रहण गर्ने कार्यक्रम रहेको छ । संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै शनिबार सपथग्रहण कार्यक्रम राखेको जनाएको छ ।
राष्ट्रिय सभा अध्यक्ष रहेका गणेशप्रसाद तिमिल्सिनाको समेत कार्यकाल शुक्रबारदेखि सकिएको छ । अब राष्ट्रिय सभाको अध्यक्ष नयाँ चयन गर्नुपर्ने हुन्छ । अध्यक्षमा अहिलेको सत्तारूढ गठबन्धन दलबाटै आउने निश्चित झैं छ । तर, गठबन्धनभित्र रहेका प्रमुख तीन दलले अध्यक्षमा दाबी गरेपछि कतिपयले गठबन्धन नै फुट्ने दाबी गरिरहेका छन् ।
गठबन्धनभित्रका नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले राष्ट्रिय सभा अध्यक्षमा दाबी गर्दै आएका छन् । राष्ट्रिय सभाको सदस्य सिट बाँडफाँटकै बेला अध्यक्ष कुन दलले पाउने भन्ने स्पष्ट निर्णय भएको थिएन । तर, कांग्रेस र एकीकृत समाजवादीका नेताले अध्यक्ष आफूहरूकै दलले पाउने सहमति पहिले नै भइसकेको दाबी गर्दै आएका छन् । पछिल्लो समय माओवादी केन्द्रले समेत अध्यक्षमा दाबी गरेको छ ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै दलले अध्यक्ष पाउनुपर्ने दाबी गर्दै आएका छन् । तर, गठबन्धनको बैठकले ठोस निर्णय गर्न बाँकी नै छ ।
एकीकृत समाजवादीका उपाध्यक्ष धर्मनाथ साहले गठबन्धनले छिट्टै नै राष्ट्रिय सभा अध्यक्षको टुंगो लगाउने र गठबन्धनको निर्णयअनुसार नै सत्तारूढ दल अगाडि बढ्ने बताए । गठबन्धनको निर्णयअनुसार गठबन्धनमा रहेका दल अगाडि बढ्न सहमत रहेको बताउँदै उपाध्यक्ष साहले यसैका कारण गठबन्धन नफुट्ने दाबी गरे ।
राष्ट्रिय सभाका अध्यक्ष संवैधानिक परिषद्को सदस्य समेत हुने संवैधानिक व्यवस्था छ । परिषद्बाट संवैधानिक आयोगमा हुने नियुक्तिलगायतका विषयमा अध्यक्षको समेत निर्णायक भूमिका हुने भएकाले यसमा दलले दाबी गर्नु स्वाभाविक नै भएको नेता बताउँछन् ।
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा दाबी गर्दै आएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा यसअघि भएको सहमतिअनुसार कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष पाउने बताउँछन् । यो कुनै विवादको विषय नभएको बताउँदै उनले गठबन्धनमा रहेका दलकै सहमति र निर्णयका आधारमा कांग्रेसले उम्मेदवारी दिने आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS