काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ सम्पन्न भएको छ ।
निर्वाचन आयोगले दुवै प्रणालीअन्तर्गत आवश्यक पर्ने मतपत्र समयमै छपाइ गरी सम्बन्धित जिल्लामा पठाउने कार्य अगाडि बढाएको जनाएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ तथा प्याकिङ कार्य पूरा भएको छ ।
माघ २९ गतेदेखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरिएकोमा हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको छ भने अन्य प्रदेशमा ढुवानी कार्य जारी रहेको आयोगले जानकारी दिएको छ । मतपत्र बाहेकका अन्य निर्वाचन सामग्रीको ढुवानी भने सबै प्रदेशमा सम्पन्न भइसकेको छ ।
मतपत्र छपाइ कार्य आयोगले निर्धारण गरेको कार्यतालिकाअनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा २०८२ पुस २२ गतेदेखि सुरु गरिएको थियो । प्रारम्भमा मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २ सय नमूना मतपत्र छपाइ गरिएको थियो ।
त्यसपछि २०८२ पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ सुरु गरिएकोमा २०८२ माघ १३ गतेसम्म आवश्यक पर्ने जम्मा २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरिएको आयोगले जनाएको छ ।

निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले तयारीलाई तीव्र बनाउँदै सबै सामग्री समयमै मतदान केन्द्रमा पुर्याउने व्यवस्था मिलाइएको जनाएको छ।

FACEBOOK COMMENTS