काठमाडौँ । बलिउडको साजिद नाडियाडवालाको बहु–स्टारर फिल्म ‘हाउसफुल–५’ ले भारतीय बक्स अफिसमा शानदार सुरूआत गरेको छ । एक दर्जनभन्दा बढी स्टारहरू भएको यो कमेडी फिल्मले रिलिजको पहिलो दिन २४ करोड ३५ लाख कमाई गरेको छ ।
बलिउड फिल्म विश्लेषक तरण आदर्शले हाउसफुल–५ रिलिजको पहिलो दिन धेरै कमाई गर्ने यस वर्षको तेस्रो फिल्म बनेको उल्लेख गरेका छन् ।
यद्यपि, ठुलो स्टारकाष्ट भएको हाउसफुल–५ को यस कमाईलाई औसत भनेका छन् । अब यस फिल्मले शनिबार र आइतबार कस्तो कमाइ गर्छ, त्यस आधारमा हिट र फ्लप हुने बताइएको छ ।
हाउसफुलको पहिलो फिल्म २०१० मा रिलिज भएको थियो । साजिद खान निर्देशित यो फिल्मले दर्शकहरूलाई धेरै हसायो र लगभग ७५ करोड भारु कमाइ गरेको थियो । हाउसफुलको अहिलो भागमा अक्षय कुमार, रितेश देशमुख र दीपिका पादुकोण रहेका थिए ।
त्यसपछि २०१२ मा आएको ‘हाउसफुल–२’ मा पटकथा र पात्रहरूको दायरा विस्तार गरिएको थियो र ज्याकलिन फर्नान्डेज, जोन अब्राहम, असिन, ऋषि कपूर जस्ता कलाकारहरूको प्रवेशबाट फिल्मलाई धेरै फाइदा भयो । यो फिल्मले बक्स अफिसमा ११२ करोड कमाइ गर्यो ।
त्यसपछि तेस्रो फिल्म ‘हाउसफुल–३’ २०१६ मा रिलिज भएको थियो, तर यो अघिल्ला फिल्महरूभन्दा अलि कमजोर साबित भयो । अक्षय, रितेश र अभिषेक बच्चनले दर्शकलाई हसाउन सफल भए पनि फिल्मले ११० मात्र करोड कमाइ गर्यो ।
त्यसपछि २०१९ मा ‘हाउसफुल–४’ आयो, जसले फेरि एक पटक फ्रेन्चाइजलाई नयाँ उचाइमा पुर्यायो । पुनर्जन्मको विषयवस्तुमा बनेको यो फिल्मलाई विशाल स्टार कास्ट र दृश्य भव्य स्केलको साथ प्रस्तुत गरिएको थियो । यसपटक फिल्मले रेकर्ड तोडेर २१० करोड रुपैयाँ कमायो र हाउसफुल फ्रान्चाइजीमा अझै पनि शक्ति छ भनेर प्रमाणित गर्यो । अक्षय, रितेश बाहेक बबी देओल, पूजा हेगडे, कृति सेननले पनि ‘हाउसफुल–४’ मा प्रवेश गरेका थिए ।
अब पाँचौं शृङ्खला ‘हाउसफुल–५’ पनि सिनेमाघरहरूमा आइपुगेको छ । फिल्ममा २० भन्दा बढी कलाकारहरू देखिएका छन्, जसमा अक्षय कुमार, रितेश देशमुख, सञ्जय दत्त, अभिषेक बच्चन, नाना पाटेकर जस्ता दिग्गज कलाकारहरू समावेश छन् । सोनम बाजवा, नरगिस फाखरी, ज्याकलिन फर्नान्डेज र चित्राङ्गदा सिंह पनि महत्त्वपूर्ण भूमिकामा छन् । तरुण मनसुखानीद्वारा निर्देशित फिल्म साजिद नाडियाडवालाले निर्माण गरेका हुन् ।
३०० करोड भारुको ठूलो बजेटमा बनेको ‘हाउसफुल–५’ लाई भारतीय सिनेमाको अहिलेसम्मको सबैभन्दा ठूलो कमेडी फिल्म भनिएको छ । फिल्मको प्रचार पनि एकदमै अनौठो तरिकाले गरिएको छ, जसले दर्शकहरूलाई जिज्ञासु बनाएको छ । एकातिर अक्षय कुमार यो फिल्मबाट फेरि एक पटक बक्स अफिसको बादशाह बन्ने अपेक्षा गरिएको छ भने अर्कोतर्फ ‘हाउसफुल–५’ ले आफ्नो अघिल्ला भागहरूको सफलतालाई जित्न सक्छ या सक्दैन भन्ने कौतूहलता छ ।
FACEBOOK COMMENTS