काठमाडौं । गृहिणी महिला संघले १० जना महिलालाई सम्मान गरेको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर संघले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने महिलाहरूलाई सम्मान गरेको हो । अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा आज बिहीबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत संघले उनीहरूलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा शिक्षातर्फ शिक्षाविद् याङ्किला सी लामा, कलाकार (लोक/परम्परागत गायक) तर्फ झुमा वानेम लिम्बु, कलाकार (टेलिभिजन/चलचित्र) तर्फ लुनिभा तुलाधर, खेलकुदतर्फ फुटबलर कृति राई र उद्यमीतर्फ ब्युटीसियन सुष्मा महरा छन् । यसैगरी, कवि लक्ष्मी श्रेष्ठ, पत्रकार छहरा दवाडी (एनटीभी), अभिनेता निशा अधिकारी, स्वास्थ्य परामर्शदाता प्रेना शाह, लाइफ कोच अनुसया श्रेष्ठ र बाल रोग विशेषज्ञ डा. दीपा खनाल (अटिजम विशेषज्ञ) लाई पनि संघले सम्मानित गरेको हो ।
सम्मानित हुने महिलाहरूलाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खादा र सम्मानपत्र प्रदान गरे । मन्त्री पौडेलको प्रमुख आतिथ्यता र संघकी अध्यक्ष अमृता शर्माको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा संघले विभिन्न ११ जनालाई टोकन अफ लभ (मायाको चिनो) प्रदान गरेको छ ।
विभिन्न सम्मान प्रदानपछि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले महिलाहरूको योगदानलाई सम्मान गरेकामा गृहिणी महिला संघ नेपाललाई धन्यवाद दिँदै यस्तो पवित्र कार्यलाई निरन्तरता दिँदै जान अनुरोध गरे । आधुनिक समाजमा महिलाहरू विभिन्न क्षेत्रको उच्च तहमा पुगी महत्वपूर्ण योगदान दिइरहेको चर्चा गर्दै उनले संघद्वारा सम्मानित महिलाहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे । यस्तो सम्मानले जीवनमा आइपर्ने सुख, दुःख, आरोह, अवरोह र उतारचढावलाई सजिलै सामना गर्ने मनोविज्ञान तयार हुने मन्त्री पौडेलको भनाइ थियो । उनले महिलाहरूलाई समाज र समाजका मानिसहरूले पर्वविशेष भन्दा पनि सधैं सम्मानभाव राख्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर संघले १० जना महिलाहरूलाई सम्मान गर्दै आएको र यो वर्ष उक्त कार्यलाई निरन्तरता दिइएको संघी अध्यक्ष अमृता शर्माले जानकारी दिनुभयो । काठमाडौं वर्ल्ड स्कुल र द प्लाजासँगको सहकार्यमा यो वर्ष सम्मान कार्यक्रम सञ्चालन गरिएको उनले बताइन् । यो वर्ष आगामी २४ गते शनिबार (मार्च ८) अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।
उनका अनुसार कार्यक्रममा अर्थ समितिका सभापति समेत रहेका सांसद सन्तोष चालिसे, राष्ट्रिय सभा सदस्य कमला पन्त, राष्ट्रिय समावेशी आयोगका पूर्वध्यक्ष डा. रामकृष्ण तिमिल्सिना, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, काठमाडौं वर्ल्ड स्कुलकी अध्यक्ष शिला चौधरी, नेपाली कांग्रेसकी नेत्री एञ्जिला पौडेललगायत उपस्थित थिए । कार्यक्रममा एक सय जना भन्दा सहभागिता जनाएका थिए ।
FACEBOOK COMMENTS