काठमाडौं । हुवावेले नेपालमा नयाँ स्मार्टवाच सिरिज ‘हुवावे वाच जीटी ७’ सार्वजनिक गरेको छ ।
स्वास्थ्य निगरानी, फिटनेस ट्र्याकिङ र आउटडोर खेलकुदका सुविधासहित सार्वजनिक सिरिजअन्तर्गत वाच जीटी ७ र वाच जीटी ७ प्रो उपलब्ध छन् ।
वाच जीटी ७ को मूल्य ४४ हजार ९९० रुपैयाँ र जीटी ७ प्रोको मूल्य ६४ हजार ९९० रुपैयाँ तोकिएको छ । जीटी ७ को ४६ एमएम भेरियन्ट कालो र पहेँलो तथा ४१ एमएम भेरियन्ट गुलाबी रङमा उपलब्ध छ ।
जीटी ७ प्रोको ४६ एमएम भेरियन्ट कालो, हरियो र पहेँलो रङमा पाइने कम्पनीले जनाएको छ ।
जीटी ७ प्रोमा टाइटेनियम एलोय केस, सिरेमिक बेजेल र नीलमणि ग्लास प्रयोग गरिएको छ । यसमा १.४७ इन्चको एमोलेड डिस्प्ले छ, जसले अधिकतम ३ हजार निट्स ब्राइटनेस प्रदान गर्छ ।

सनफ्लावर पोजिसनिङ सिस्टम र डुअल–ब्यान्ड जीपीएसले यात्राको मार्ग ट्र्याक गर्न सहयोग गर्छन् । ट्रेल रनिङ मोडमा उचाइ, गति, दूरी, उकालो–ओरालोको ढलान र मुटुको धड्कनसम्बन्धी विवरण हेर्न सकिन्छ ।

स्मार्टवाचमा साइकलिङ, गल्फ र ४० मिटरसम्मको गहिराइमा फ्रिडाइभिङका लागि विशेष सुविधा पनि छन् । कम्पनीका अनुसार स्वास्थ्य निगरानीतर्फ ईसीजी विश्लेषण, मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा, निद्रा, मुटुको धड्कनमा हुने परिवर्तनशीलता र तनाव निगरानी सुविधा उपलब्ध छन् । यसको फिजिकल रेडिनेस स्कोरले शरीरको रिकभरी अवस्था र दैनिक गतिविधिका लागि तयारी बुझ्न सहयोग गर्ने कम्पनीले जनाएको छ । यसमा ११० भन्दा बढी वर्कआउट मोड छन् ।

कम्पनीका अनुसार प्रयोगको अवस्थाअनुसार जीटी ७ प्रोको ब्याट्री हल्का प्रयोगमा २१ दिनसम्म, सामान्य प्रयोगमा १२ दिनसम्म र ट्रेल रनिङ मोडमा ५१ घण्टासम्म टिक्न सक्छ । यो स्मार्टवाच एन्ड्रोइड र आईओएस दुवै प्रणाली भएका उपकरणसँग प्रयोग गर्न सकिन्छ ।