काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय मानव अधिकार आयोगले देशभर अनुगमन टोली परिचालन गरेको छ ।
आयोगले निर्वाचनको दिन काठमाडौं उपत्यका तथा उपत्यकाबाहिरका केही जिल्लामा अध्यक्ष, सदस्य र पूर्वपदाधिकारीहरू समावेश गरी उच्चस्तरीय अनुगमन टोली खटाएको जनाएको छ ।
यसअघि विभिन्न जिल्लामा गरिएको निर्वाचनपूर्व अनुगमनको आधारमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार र अन्य सरोकारवालाहरूलाई आवश्यक ध्यानाकर्षण गराइसकिएको आयोगले जनाएको छ ।
आयोगले निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधार मात्र नभई मानव अधिकारसँग प्रत्यक्ष सम्बन्धित विषय भएको स्मरण गराउँदै सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी भई आफ्नो मत प्रयोग गर्न आग्रह गरेको छ । मौन अवधि सुरु भइसकेको अवस्थामा निर्वाचन आचारसंहिता पालना गर्दै धैर्यता र संयमता अपनाउन राजनीतिक दलहरूलाई पनि अनुरोध गरिएको छ ।
निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै आयोगले यस कार्यमा राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी र आमनागरिकको सहयोग आवश्यक रहेको जनाएको छ । निर्वाचन अवधिमा शान्ति–सुरक्षा कायम राख्दै प्रक्रिया मानव अधिकारमैत्री बनाउन सरकारलाई निर्देशन दिएको छ ।

मौन अवधिमा कुनै अवाञ्छित गतिविधि नगर्न तथा सम्भावित गतिविधि रोक्न आयोगले सरकार र निर्वाचन आयोगलाई सतर्क रहन अनुरोध गरेको छ ।

निर्वाचनका क्रममा स्वास्थ्य सेवा, आकस्मिक उपचार, शव व्यवस्थापन, सञ्चार, खानेपानी, दूध, इन्धन आपूर्ति, असक्त मतदाताका लागि सवारीसाधन तथा हवाई सेवा जस्ता अत्यावश्यक सेवा नियमित रूपमा सञ्चालन गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।

आयोगले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित, विश्वसनीय र मानव अधिकारमैत्री हुने विश्वास व्यक्त गरेको छ।

FACEBOOK COMMENTS