काठमाडौं । सहरी क्षेत्रमा हुने मानव ओसारपसार र बेचविखनजस्ता क्रियाकलाप निषेधप्रति महानगरपालिका संवेदनशील रहेको महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताएकी छिन् ।
‘अब बैठकमा भन्दा फिल्डमा काम गर्नुपर्ने बेला भएको छ ’ उनले भनिन् ‘अहिले सहरमा मानव ओसारपसार र बेचविखनको शैली फेरिएको छ । हामीले परिवर्तित शैलीमाथि निगरानी गर्नुपर्छ । यसका लागि हाम्रा विगत अनुभव, ज्ञान र सीपलाई उपयोग गर्दै सहकार्य गरौँ ।’
सरकारले २०६४ सालमा मानव बेचविखन विरुद्धको ऐन, २०६५ सालमा नियमावली र ०७० सालमा कार्यविधि जारी गरिसकेको छ । काठमाडौँ महानगरपालिकाले २०७८ साउन १९ गते बसेको कार्यपालिकाको बैठकले लैङ्गिक हिँसा निवारण कोष सञ्चालन कार्यविधि र मानव बेचविखन तथा ओसारपसार नियन्त्रण कार्यविधि २०७८ स्वीकृत गरेको छ ।
यस्तै २०७९ भदौ १२ गतेको कार्यपालिकाको निर्णयबाट वडा महिला सञ्जाल सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरेको छ । यी ३ वटै कार्यविधि जारी जारी भएर कार्यान्वयनमा आइसकेका छन् ।
संघ र स्थानीय तहसम्मको संयन्त्र हेर्दा, सचिवस्तरीय नेतृत्वमा संघमा, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा समिति छ । नगरस्तरीय समस्या समाधानका लागि नगर प्रमुखको नेतृत्वमा नगरमा समितिको व्यवस्था गरिएको छ । यसबाट बेचविखन नियमन तथा नियन्त्रणका काम हुने गरेका छन् ।
बैठकमा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले, सबै मिलेर टोल टोलमा कार्यक्रम सञ्चालन गर्नुपर्ने खाँचो औल्याए । एनले खाजा घर, वैदेशिक रोजगार, मनोरञ्जन क्षेत्रमा मानव ओसारपसार र बेचविखनका दृष्टिले सहरका जोखिमपूर्ण क्षेत्र भएको बताए ।
बेरोजगार युवायुवती सामाजिक सञ्जालमा भेटिने अपरिचित मान्छेले देखाएको लोभमा परेर बेचिने र श्रम शोषणमा पर्ने गरेको अध्ययनले देखाएको छ । मनोरञ्जन क्षेत्रमा प्रवेश गर्न सजिलो भएकोले धेरै युवाको आकर्षण यतातर्फ छ । प्रवेश गर्नु र आय हुनु फरक पाटो हो । प्रवेश गरेर जीवन धान्न अप्ठ््यारो हुन थालेपछि यौन व्यवसायमा पुग्ने र यसैबाट ओसारपसार हुने गरेको देखिन्छ ।
FACEBOOK COMMENTS