सुर्खेत । कर्णाली प्रदेशको हुम्ला जिल्लाको सदरमुकाम सिमकोट अब राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ ।
नेपाली सेनाले ४० दिन लगाएर बेलिब्रिज जडान गरेसँगै हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने भएको हो । झन्डै तीन दशकको प्रयासपछि कर्णाली करिडोर यो पुल निर्माणपछि सिधा सञ्चालनमा आउनेछ । नेपाली सेनाले करिब साढे ६ करोड रुपैयाँको लागतमा पुल निर्माण गरेको हो ।
खार्पु भएर बग्ने कर्णाली नदीको चुवाखोलामा निर्माण भएको बेलिब्रिजको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् ।
पुलले सिमकोटलाई कर्णाली करिडोरसँग जोड्दै देशको उत्तर–दक्षिण यातायातको ढोका खोलेको छ । हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यसाथ कर्णाली करिडोरअन्तर्गत हिल्सा सिमकोट सडक आयोजना सुरू भएको थियो । सडकको हुम्ला खण्डको दूरीमध्ये कवाडीदेखि सलीसल्लासम्मको ३९ किलोमिटर सडक नेपाली सेनाले २०७३ सालबाट सुरू गरी २०७८ सालमा सम्पन्न गरेर सडक विभागलाई जिम्मा लगाएको थियो ।
यो पुल सञ्चालनमा आएपछि भारतको रूपैडिया नाकादेखि चीनको हिल्सा सीमासम्म एउटै गाडीमा सिधा यात्रा गर्न सकिने भएको छ । यसले स्थानीय यातायात, व्यापार, खाद्यान्न आपूर्ति र पर्यटन क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास गरिएको छ ।
FACEBOOK COMMENTS