काठमाडौं । प्रतिनिधिसभाको गत जेठ १७ गते भएको घटनाको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले सभामुख डोलप्रसाद अर्याललाई प्राप्त विशेषाधिकारको प्रयोग गर्न सुझाव दिएको छ ।
समितिले अमर्यादित र उत्तेजक शब्द प्रयोग भएको अवस्थामा नियमावलीको प्रभावकारी कार्यान्वयन गर्दै त्यस्ता अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्ने सम्मका व्यवस्थालाई कार्यान्वयन गर्न सुझाव दिएको छ ।
समितिले सांसदहरूले पालना गर्नुपर्ने गरी प्रतिनिधि सभा नियमावलीमा उल्लेख भएका आचारसंहिता तथा नियमहरूको पूर्ण परिपालना गर्ने गराउने विषयलाई स्वयं सांसदहरू, सङ्घीय संसद् सचिवालय तथा सभामुखले गम्भीरतापूर्वक लिनुपर्ने सुझाव दिएको छ ।
गत जेठ १७ गते भएको घटनाको छानबिन गर्न जेठ १८ गते बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले अर्यालले जाँचबुझ समिति गठन गरेका थिए । समितिमा प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी संयोजक तथा आन्तरिक स्रोत तथा योजना व्यवस्थापन महाशाखा प्रमुख बबिता मिश्र र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख गोपाल सिग्देल सदस्य रहेका थिए ।