सङ्खुवासभा । मेन्छ्याम जलविद्युत् परियोजनाको उद्घाटनसँगै सङ्खुवासभा जलविद्युत्को ‘हब’ बन्ने चर्चाले जिल्लावासीमा खुसीको तरङ्ग फैलिएको छ ।
हुन त मेन्छ्याम जलविद्युत् परियोजना ४.७२ मेगावाटको मात्र हो तर यससँगै सङ्खुवासभामा २२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । यसले यहाँको विद्युत् विकासको सम्भावना भने बढाएको छ ।
सङ्खुवासभामा हाल सानो क्षमतामा मात्र विद्युत् उत्पादन हुँदै आए पनि भविष्यमा जलविद्युत्को ‘हब’ बन्ने निश्चित छ । पाँच हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमता भएको सङ्खुवासभामा हाल एक हजार १६७ मेगावाट क्षमताको जलविद्युत् परियोजनाको निर्माण भइरहेको छ । विद्युत् विकास विभागको तथ्याङ्कअनुसार हाल १५ वटा प्रवद्र्धक कम्पनीले विद्युत् उत्पादनको इजाजत लिएर निर्माण गरिरहेका छन् ।
एक हजार २५८।१ मेगावाट विद्युत् उत्पादनका लागि पाँचवटा कम्पनीले उत्पादन अनुमति माग गर्दै निवेदन दिएको विभागले जानकारी दिएको छ । सङ्खुवासभामा जलविद्युत्का १८ वटा परियोजनाका लागि सर्भे लाइसेन्स लिएर अध्ययन भइरहेको छ । ती परियोजना सञ्चालन भए दुई हजार ८७।६५ मेगावाट विद्युत् उत्पादन हुनेछ । यसबाहेक छ सय मेगावाट क्षमता भएको लोअर अरुण जलविद्युत् परियोजना अरुण तेस्रो प्रवद्र्धक सतलज जलविद्युत् निगमलाई दिने सरकारले निर्णय गरिसकेको छ । हालसम्मको तथ्याङ्कअनुसार सङ्खुवासभामा पाँच हजार १२५।७५ मेगावाट क्षमताका जलविद्युत् परियोजना निर्माण तथा अध्ययनक्रममा छन् ।
सङ्खुवासभाको अधिकांश विद्युत् उत्पादन माथिल्लो क्षेत्रमा छ । भोटखोला र मकालु गाउँपालिकामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न मकालु गाउँपालिका–४ को हाइटारमा सब–स्टेसन निर्माण गर्न लागिएको छ ।
सिलिचोङ र भोजपुरको उत्तरी क्षेत्रमा उत्पादित विद्युत् सङ्कलनका लागि खाँदबारी–१० को चाँपाबोटे ९शीतलपाटी०मा पनि सब–स्टेसन निर्माण गर्न लागिएको छ । हाइटारबाट चाँपाबोटेसम्म ३५ किलोमिटरको प्रसारण लाइन निर्माण प्रक्रिया सुरु गरिएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले निर्माण गर्न लागेको यो प्रसारण लाइन आगामी चार वर्षभित्र सम्पन्न गरिने बताइएको छ ।
चाँपाबोटेबाट तुम्लिङटार सब–स्टेसनसम्मको प्रसारण लाइन निर्माणको कामसमेत सुरु भइसकेको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको प्रसारण लाइन निर्माण गर्न दुई महिनाअघि भारतीय कम्पनी कलपत्रु पावर ट्रान्समिसन लिमिटेडलाई ठेक्का दिइएको छ । उक्त कम्पनीलाई ३० महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का दिइएको प्राधिकरणको तर्फबाट प्रोजेक्ट मेनेजर रघबेन्द्र झाले जानकारी दिएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS