काठमाडौं । बझाङको साइपाल गाउँपालिका–४ र ५ मा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनामा लगानी जुटेको छ ।
उक्त आयोजना निर्माणका लागि कुमारी बैंकको नेतृत्व र एनएमबी बैंकको सह नेतृत्वमा एक दर्जन भन्दा बढी बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् ।
लगानी गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरूमा माछापुच्छ्रे बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एसिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आइसीएफसी फाइनान्स छन् ।
यी सबै बैंक तथा वित्तीय संस्थाहरूसँग सहवित्तीय व्यवस्थापन सम्झौता औपचारिक रूपमा सम्पन्न भएको छ । गत शुक्रकार काठमाडौंमा आयोजित एक विशेष समारोहबीच कुमारी बैंक र आयोजनाको प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरिएको हो ।
सम्झौतामा कुमारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रामचन्द्र खनाल र प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरेका छन् ।
कुमारी बैंकले हाल ऊर्जा क्षेत्रको विकासमा केन्द्रित हुँदै विभिन्न ६५ भन्दा बढी जलविद्युत् तथा सौर्य ऊर्जा परियोजनाहरूमा लगानी गर्दै आएको छ । बैंकले हालसम्म ७० अर्ब रूपैयाँभन्दा बढीको लगानी गरी (प्रतिवद्धतासहित) २,००० मेगावाटभन्दा बढी क्षमताका परियोजनाहरूको वित्तीय व्यवस्थापनमा (सहवित्तीयकरण अन्तर्गतसमेत) योगदान प्रदान गरेको छ ।
जसमध्ये केही सञ्चालनमा रहेको र अरु विभिन्न निर्माणाधीन चरणहरूमा रहेका छन् । यी परियोजनाहरूले राष्ट्रिय प्रसारण लाइनमा विद्युत् आपूर्ति बढाउन महत्वपूर्ण योगदान पुर्याइरहेको बताएको छ ।
करिब ४१ अर्ब ६० करोड रूपैयाँ लागतमा निर्माण हुन लागेको आयोजनालाई ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपातमा अघि बढाउने तयारी गरिएको छ । यो आयोजना अर्ध जलाशययुक्त नदी प्रवाह प्रणालीमा आधारित छ, जसमा ४.५ घण्टाको पिकिङ्ग क्षमता रहनेछ ।
आयोजनाकोे डिजाइन डिस्चार्ज ३४.१ घनमिटर प्रतिसेकेन्ड रहेको छ भने ग्रस हेड ७५८.९ मिटर र नेट हेड ७३५.६ मिटर रहेको छ । आयोजनाको बाँधभन्दा तल जैविक बहाव कायम राख्न वर्षभर १.४१ घन मिटर प्रतिसेकेन्ड पानी सेती नदीमा निरन्तर छोडिने व्यवस्था गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) २०८० साल साउन १९ गते सम्पन्न भई २०८१ वैशाख ३१ गते विद्युत् उत्पादन अनुमति (जेनेरेशन लाइसेन्स) प्राप्त भइसकेको छ । आयोजना पाँच वर्षभित्र सम्पन्न गरी २०८८ सालको असार ३१ गते (१५ जुलाई २०३१) भित्र व्यावसायिक उत्पादन सुरू गर्ने लक्ष्यसहित अघि बढाइएको छ ।
आयोजनाबाट वार्षिक एक हजार २२९ दशमलव ६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ । वर्षायाममा ८३४ दशमलव ४९ गिगावाट र सुखा याममा ३९५ दशमलव ११ गिगावट उत्पादन हुनेछ, जसमा १६३ दशमलव ६३ गिगावाट पिक इनर्जी हुनेछ । सुखा याममा पिक इनर्जीको विद्युत् दर प्रतियुनिट १० रूपैयाँ ५५ प्रसा र नन–पिक इनर्जीको दर ८ रूपैयाँ ४० पैसा रहनेछ ।
उत्पादित विद्युत् आयोजनास्थलमै निर्माण गरिने २२० केभी को स्विचयार्डबाट ३० किलोमिटर लामो २२० केभी डबल सर्किट प्रशारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रस्तावित ४०० केभी बझाङ सब–स्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ । आयोजनाका लागि आवश्यक पहुँच सडकको कुल लम्बाइ २५ किलोमिटर हुनेछ । आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड २५ लाख रूपैयाँ हुनेछ र प्रथम वर्षमै अनुमानित ७ अर्ब ६७ करोड रूपैयाँ आर्जन हुने अपेक्षा गरिएको छ ।
आयोजनाको ३० प्रतिशत स्वपुँजी प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडले विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्तामार्फत सङ्कलन गरिरहेको छ । ठूला लगानीकर्ताहरूमा स्युरी न्यादी पावर लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड, सगरमाथा जलविद्युत् कम्पनी, माइ खोला हाइड्रोपावर लिमिटेड र यश होल्डिङ प्रालिलगायतका ठूला कम्पनीहरू तथा शैलेन्द्र गुरागाईं, डा. भोगेन्द्र कुमार गुरागाईं, र दिनेश गुरुङ्गजस्ता अनुभवी लगानीकर्ताहरू रहेका छन् ।
स्थानीय पूर्वाधार विस्तार, रोजगारी सिर्जना, ऊर्जा आत्मनिर्भरता र सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक समृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षासहित माथिल्लो सेती जलविद्युत आयोजना नेपालको जलविद्युत विकासको इतिहासमा अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । आयोजना सम्पन्न भएपछि उज्यालो सुदूरपश्चिमको सपना साकार पार्न निर्णायक योगदान पुग्ने विश्वास गरिएको छ ।
FACEBOOK COMMENTS