काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।
सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको लान्द्रुक मोदी जलविद्युत आयोजनामा माछापुच्छ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्पन्न भएको हो ।
आइतबार आयोजनाको प्रवर्द्धक कम्पनी अन्नपूर्ण विद्युत विकास प्रालिका कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुच्छ्रे बैंक लिमिटेडको तर्फबाट विनितकुमार झाले लगानी सम्झौतामा हस्ताक्षर गर्दै वित्तीय व्यवस्थापन टुंग्याएका हुन् ।
१६ अर्ब ४० करोड रूपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंकहरूले ७५ प्रतिशत अर्थात १२ अर्ब २० करोड रूपैयाँ लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत सिंगटी हाइड्रोसहित प्रवर्द्धक कम्पनी र अन्य प्रमोटर लगानीकर्ताहरूले व्यवस्थापन गर्ने सिंगटी हाइड्रो इनर्जी लीमिटेडले जनाएको छ ।
आयोजनामा ग्लोबल आईएमई, एभरेष्ट, एसबीआई, कृषि विकास र लुम्बीनी विकास बैंकसमेत सहभागी हुनेछन् । अन्नपूर्ण विद्युत विकास प्रालिद्वारा प्रवर्द्धित लान्द्रुक मोदी जलविद्युत आयोजना कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्दछ । जलविद्युत विज्ञहरूका अनुसार यो आयोजना विश्वकै तेस्रो हाइहेड प्रजेक्ट र नेपालको हकमा भने पहिलो अर्थात सबैभन्दा धेरै उचाइ भएको आयोजना हो ।
उक्त आयोजनाको हेडवर्क्सदेखि विद्युतगृहसम्मको वास्तविक उचाइ १४ सय १८ मिटर रहेको छ । नेपाली जलविद्युत आयोजनाहरूमा यो लेभलको उचाइ सबैभन्दा धेरै हो । नेपाल विद्युत प्राधिकरणसँग यसअघि नै विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको यो आयोजनामा आगामी कात्तिक महिनाबाट भौतिक निर्माणको काम सुरू हुने प्रवर्द्धक कम्पनी अन्नपूर्ण विद्युत विकास प्रालिले जनाएको छ ।
FACEBOOK COMMENTS