काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ ।
दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना एक ‘मेगाप्रोजेक्ट’ र सार्क क्षेत्रको अहिलेसम्मको सबैभन्दा ठुलो बाँध आयोजनाका रूपमा रहेको छ ।
सो आयोजनामा लगानी गर्न एडीबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडीबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा सम्मिलित टोलीले बुधबार आयोजनाको स्थलगत निरीक्षणसमेत गरेको छ ।
टोलीले आयोजनाको जलाशय क्षेत्र र विद्युत्गृहस्थलको निरीक्षण गर्दै बाँधस्थल खोटाङको रबुवा बजारमा स्थानीय तहका जनप्रतिनिधिसँग अन्तक्र्रियासमेत गरेको छ । ३८ वर्षदेखि चर्चामा रहेका आयोजनाको निर्माणमा अलमल भइरहँदा नेपालले विद्युत् उत्पादनमा फड्को मार्न समस्या भइरहेको थियो ।
कुल ६ सय ३५ मेगावाट क्षमता रहेको जलाशययुक्त आयोजनाका रूपमा परिचित दूधकोशीमा एसियाली विकास बैंक (एडीबी)ले ऋणबाट १ अर्ब ६८ करोड डलर र बाँकी स्वपुँजीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्नेगरी तयारी गरिएकोे छ ।
अनुमानित लागत निर्माण अवधिको ब्याजसहित २ अर्ब २० करोड अमेरिकी डलर अर्थात् करिब २ खर्ब २५ अर्ब रहेको छ । आयोजना निर्माणबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लाका ३ हजार १ सय ३९ घरधुरी प्रभावित हुनेछन् । जसमध्ये २ सय ३८ घरधुरी पूर्ण र २ हजार ९ सय १ घरधुरी आंशिक रूपमा प्रभावित हुने राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS