काठमाडौं । पछिल्लो समय नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको सहभागिता उत्साहपूर्वक बढिरहेको छ ।
पछिल्ला दिनहरूमा जलविद्युत् आयोजनाहरू निर्माणका लागि सरकारले सहजीकरणको बाटो अपनाउन थालेसँगै नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको लगानी दिनप्रतिदित बढ्दै गइरहेको हो ।
नेपालमा जलविद्युत् उत्पादनको इतिहास १०० वर्ष भन्दा बढी पुरानो भए पनि निजी क्षेत्रको प्रवेशपछि मात्रै नेपालमा विद्युत् उत्पादनले गति लिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान) का अध्यक्ष गणेश कार्की बताउँछन् ।
‘निजी क्षेत्रले विद्युत् उत्पादन गर्न थालेको २५ वर्ष मात्रै भयो । यो अवधिमा सरकारले ११३ वर्षमा प्राप्त गर्न नसकेको सफलता निजी क्षेत्रको इफोर्टमा प्राप्त गरेको छ,’ अध्यक्ष कार्कीले भने, ‘२५ वर्षअघि नेपालको विद्युत् उत्पादन जम्मा २५२ मेगावाट थियो । जब हाम्रो (निजी क्षेत्र) को प्रवेश भयो अहिले तीन हजार ५०० मेगावाट पुगेको छ । यसरी हेर्दा निजी क्षेत्रबाट २५ वर्षमा दुई हजार ७०० मेगावाट भन्दा बढी योगदान भएको छ ।’
नेपालको सम्भावनाका तुलनामा यो उत्पादन अति न्यून भएको र सरकारले ऊर्जा उद्यमीहरूको कतिपय चासो र चिन्ताहरूलाई सम्बोधन गर्नसके यसले निकै ठूलो फड्को मार्ने अध्यक्ष कार्कीको भनाइ छ ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की पूर्व अध्यक्ष भवानी राणाले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न निजी क्षेत्र उत्साहित रहेको बताउँछिन् । पछिल्लो समय ऊर्जा उत्पादकहरूमा लगानीका लागि आत्मबल बढिरहेको चर्चा गर्दै उनले ऊर्जा उत्पादहकरूको बढ्दो आत्मबलले मुलुकमा सकारात्मक सन्देश प्रवाह गरिरहेको बताइन् ।
‘पछिल्लो समय हाइड्रो इनर्जीमा निजी क्षेत्रको सहभागिता दिनप्रतिदिन बढिरहेको छ । यसबाट उहाँहरूको आत्मबल बढ्नाका साथै राम्रो सन्देश पनि गइरहेको छ,’ पूर्व अध्यक्ष राणाले भनिन्, ‘विगतमा १०–१२ मेगावाट क्षमताका आयोजनाहरू निर्माण गर्दै आएको निजी क्षेत्र आज ३०० मेगावाट भन्दा बढी क्षमताका परियोजनाहरू सञ्चालन गर्ने तहमा पुगेको छ । यसले नेपालको ऊर्जा उत्पादनमा असाध्यै धेरै योगदान गर्ने मैले देखेकी छु ।’
सरकारले निजी क्षेत्रलाई ट्रान्समिसन लाइन बनाउन दिएजस्तै विद्युत् निर्यातको पनि अनुमति दिए जलविद्युत् विकासले अझै छिटो फड्को मार्नसक्ने अध्यक्ष राणाको भनाइ छ । ‘सरकारले निजी क्षेत्रलाई ट्रान्समिसन लाइन बनाउन दिने भनेको छ, त्यसले निजी क्षेत्रको सहभागिता बढ्नाका साथै दुवै पक्षलाई राम्रो पनि गर्छ,’ उनले भनिन्, ‘विद्युत् निर्यात गर्न पनि निजी क्षेत्रलाई बाटो खोलिदिने हो भने त्यसले निजी क्षेत्रको भूमिका थप प्रभावकारी बनाउँछ ।’
३४१ मेगावाट क्षमताको बूढीगण्डकी, २१६ मेगावाट क्षमताको माथिल्लो सेती र २८५ मेगावाट क्षमताको अप्पर तमोरलगायत ठूला जलविद्युत् आयोजनाहरू निजी क्षेत्रबाट निर्माण भइरहेकोे अध्यक्ष राणाको भनाइ छ । त्यस्तै, २८५ मेगावाट क्षमताको माथिल्लो तमोर, २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१, १६० मेगावाट क्षमताको लाप्चेखोला, १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी, १२० मेगावाट क्षमताको रसुवा भोटेकोशी र १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजनालगायत पनि निजी क्षेत्रकै लगानी र पहलकदमीमा निर्माण भइरहेको दृष्टान्त उनले सुनाइन् ।
मुलुकको समृद्धिसँग जोडिएको जलविद्युत् क्षेत्रलाई सरकारले अझै प्रवर्द्धन गरी सहज वातावरण निर्माण गर्दै अघि बढ्नुपर्ने सुझाव उनको छ ।
यसैगरी, नेपालको जलविद्युत् स्वच्छ ऊर्जा भएको भन्दै सरकार र निजी क्षेत्र सबैले प्रशस्त लाभ लिन सक्नुपर्ने बताउँछन् नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल । उच्च लाभ लिन सरकारले नीतिगत सुधार गर्नुपर्नेमा उनको जोड छ । नेपालमा जलविद्युत्को थप उत्पादन र विकासका निम्ति राज्यले निजी क्षेत्रलाई प्रवर्द्धन गर्न आवश्यक रहेको उनको भनाइ छ ।
‘समग्र अर्थ व्यवस्थालाई सुधार गर्न सके लगानीको वातावरण थप बलियो बन्छ,’ अध्यक्ष ढकालले भने, ‘अर्थ व्यवस्था सुधार्न सके ऊर्जा क्षेत्रमा लगानी बढ्न गइ मुलुकको अर्थतन्त्रलाई सुधान बल पुग्नेछ ।’ नेपालको आम्दानीको बलियो स्रोत नै ऊर्जा भएको उनको भनाइ छ ।
FACEBOOK COMMENTS