काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गहिरो लभ परेकाले पुस १० मा बनेको सात दलीय समीकरण छाडेर पुरानै गठबन्धनमा फर्किएको बताएका छन्।
तनहुँको डुम्रेमा बुधबार आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
‘म यस पटक केही असहज तरिकाले म प्रधानमन्त्री भएँ। म प्रधानमन्त्री भएकोमा मलाई पनि चयन भएन। मलाई धपाएकोमा देउवाजीलाई पनि चयन भएन’, उनले भने, ‘देउवाजी र मबीच गहिरो लभ परेको छ। त्यहीकारण पुरानै गठबन्धनमा जान हामी उपाय खोज्दैथियौँ। स्वभाविक गठबन्धन यही नै हो यतै फर्किनुको विकल्प पनि थिए। त्यहीकारण आज हामी सँगै छौँ।’
उनले आफूले धेरै मिहिनेत गरेर केपी शर्मा ओली नेतृत्वको सात दलीय गठबन्धन छाडेको पनि बताए। ‘धेरै मिहिनेत गरेर आज यो ठाउँमा छौँ’, उनले भने, ‘यसमा हाम्रा पार्टी र नेताहरुको भूमिका गहिरो छ। अब हामी राष्ट्रपतिदेखि प्रदेश सरकारसमेत सबै लिँदैछौँ। त्यसैले यहाँका मतदाताले पनि त्यहीअनुसार मूल्याङ्कन गरिदिनु होला।’
कुरा गम्भीर छ, ठूला गफ हाँक्नेको असलीयत बाहिर आउँदैछ
प्रचण्डले रवि लामिछानेले गृहमन्त्री भएका बेला गरेको ठेक्का सम्झौता रद्द गर्नुको पछाडि गहिरो कुरा रहेको भन्दै भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न आफूले सो निर्णय लिएको बताएका छन् ।
प्रधानमन्त्रीले भने, ‘हामीले हिजोमात्रै क्याबिनेटबाट निर्णय गरेका छौं । यो सामान्य निर्णय होइन, कुरा गहिरो छ बुझ्नु होला । ठूला गफ हाँक्नेको असलीयत के हो भन्ने हामीले देखेका छौं । यो सरकारले सुशासनमा गम्भीर कदम चालेको छ ।’
सरकारले लामिछानेले गरेको ठेक्का सम्झौता रद्दा गर्दै छानबिन समिति गठन गरेको छ । अख्तियारले पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सो सम्झौताको छानविन थालेको सन्दर्भमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ ।
FACEBOOK COMMENTS