काठमाडौं ।सिंगापुरको नेशनल युनिभर्सिटीका पूर्वउपाध्यक्ष प्रा. श्रीराम रामाकृष्णले नेपालमा आधुनिक र नवप्रवर्तनमुखी विश्वविद्यालय स्थापना गर्न अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको औँल्याएका छन् ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबीयूएसटी) ले काठमाडौंमा आयोजना गरेको ‘विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम’ विषयक एकदिने अन्तर्राष्ट्रिय सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै रामाकृष्णले यस्तो बताएका हुन् ।
‘म व्यक्तिगत रूपमा उपस्थित भएर तपाईंहरूसँग सबैभन्दा यथार्थ भविष्य र तपाईंहरूसँग भएको विशेष अवसरबारेमा प्रत्यक्ष कुरा गर्न चाहन्थेँ,’ उनले भने, ‘सायद यो हामीमध्ये धेरैका लागि करिअर र जीवनको सबैभन्दा महत्त्वपूर्ण काम हो ।’
‘एभरेष्ट फण्ड’ मार्फत सहयोग जुट्ने
उनले अमेरिकामा स्थापना गरिएको ‘एभरेष्ट फण्ड’ को उदाहरण दिँदै यस फण्डमार्फत नेपालमा परोपकारी सहयोग ल्याउन सकिने बताए । ‘अहिलेसम्म एभरेष्ट फण्डबाट प्राप्त हुने सहयोगको एकमात्र लाभार्थी तपाईंहरूको विश्वविद्यालय हुनेछ,’ रामाकृष्णले भने ।
उनका अनुसार दाताहरूलाई कर छुटको सुविधा हुने भएकाले यस्ता फण्डहरू सहयोग गर्न सहज माध्यम बन्नेछन् ।
अमेरिकामा ६ खर्ब डलरभन्दा बढी वार्षिक दान
उनले अमेरिकामा मात्रै गत वर्ष ५ खर्ब ७० अर्ब डलर बराबरको दान संकलन भएको उल्लेख गर्दै यस वर्ष त्यो रकम ६ खर्ब डलर नाघ्ने अपेक्षा गरिएको जानकारी दिए । तीमध्ये करिब ५ प्रतिशत अर्थात् ३० अर्ब डलर विदेशमा खर्च हुने जनाउँदै उनले नेपालले पनि त्यसबाट लाभ लिन सक्ने सम्भावना औंल्याए ।
अन्य देशमा पनि फण्डको विस्तार
रामाकृष्णले अस्ट्रेलिया, क्यानडा, बेलायत जस्ता देशहरूमा पनि यस्ता फण्ड विस्तार गर्ने योजना रहेको बताए । ‘नेपालसँग सम्बन्धित व्यक्ति, यहाँ भ्रमण गरेर माया गर्ने पर्यटक वा अन्तर्राष्ट्रिय संस्थाहरूलाई समेटेर दीर्घकालीन लगानीको वातावरण बनाउँदैछौं,’ उनले भने ।
उनले विश्वभरका सम्भावित दाताहरूसँग सकारात्मक संवाद गर्दै नेपालमा वास्तविक परिवर्तन ल्याउने अवसर प्रदान गर्ने आफ्नो दृढता व्यक्त गरे ।
FACEBOOK COMMENTS