असोज ३ ,काठमाडौँ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर अजयक्रान्ति शाक्यले आफ्नो मन्त्रालय अन्तर्गतका एक वर्षमा सम्पन्न गर्नुपर्ने पचास ओटा योजना एक महिना भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताउनुभएको छ ।
नेकपा एमाले काठमाडौँ महानगर कमिटी वडा १२, २१ र २२ ले संयुक्तरुपमा उहाँको सम्मानमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई आज लगनटोलमा सम्वोधन गर्दै यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत एक वर्षमा सम्पन्न गर्नुपर्ने पचास ओटा योजना रहेछन्,’ मन्त्री शाक्यले भन्नुभयो, ‘ती कार्यक्रम एक महिना भित्र सम्पन्न गर्ने लक्ष्यका साथ अहिले म दैनिक १२ घण्टा मन्त्रालयमा बसेर काम गरिरहेको छु ।’ उहाँले त्यसका लागि सबैको साथ–सहयोगको अपेक्षा गरेको गरेको पनि बताउनुभयो ।
‘माननीय अष्टलक्ष्मी शाक्यज्युको नेतृत्वको यो सरकारले निरन्तरता पायो भने एक महिनामा यी सबै योजनाको टुंगो लगाएर अरु थप पचास ओटा योजनासहित त्यसका लागि बजेट बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ शाक्यले भन्नुभयो, ‘वर्तमान सरकारले निरन्तरता पाएन भने आउने मन्त्रीका लागि यो आर्थिक वर्षका लागि गर्नुपर्ने काम बाँकी रहने छैनन् । उहाँहरु मन्त्रीको कुर्सीमा बसे मात्रै हुन्छ ।’ मन्त्री शाक्यले आन्तरिक मामिला मन्त्रीको हैसियतमा आफूले जिम्मेवारी सम्हाल्ने वित्तिकै प्रदेशको शान्ति–सुरक्षाका सन्दर्भमा विशेष चासो राख्दै कार्यक्रमहरु अघि बढाएको पनि जानकारी दिनुभयो । ‘मन्त्री पदको सपथ लिएको केही दिनमै मैले सुरक्षासमितिको बैठक राखेर बागमती प्रदेशको शान्ति–सुरक्षालाई चुस्त–दुरुस्त राख्न आवश्यक निर्देशन दिइसकेको छु,’ उहाँले भन्नुभयो, ‘जति सक्दो छिटो नेपाल प्रहरीलाई आवश्यक स्रोत–साधनको व्यवस्था गरेर उहाँहरुको मनोवल उच्च बनाउने कार्यको पनि मैले थालनी गरेको छु ।’
मन्त्री शाक्यले बागमती प्रदेशका १३ जिल्ला मध्ये १० ओटा जिल्ला मात्रै बागमती प्रहरी प्रदेशको मातहतमा रहेको भन्दै बागमतीका तीन जिल्ला पनि प्रदेश मातहतमै राख्न केन्द्र सरकारसँग आग्रह गर्नुभयो । ‘म बागमती प्रदेशको आन्तरिक मामिला मन्त्री भए पनि उपत्यकाका तीन जिल्ला ललितपुर, भक्तपुर र काठमाडौँको प्रहरी मेरो मन्त्रालयको मातहतमा छ्रैनन्,’ उहाँले भन्नुभयो,’ ‘नेपाल सरकारको ऐनमा भएको व्यवस्थालाई अध्यादेशमार्फत ल्याएको यो बाध्यात्मक व्यवस्थाले केही जटिलता पैदा भएको छ । त्यसलाई सहजीकरण गर्दै बागमती प्रदेशका यी तीन जिल्लाको प्रहरी पनि बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मातहतमा रहने व्यवस्था केन्द्र सरकारले छिटो गरोस् भन्ने आग्रह गर्न चाहन्छु ।’ त्यसो हुन सके बागमती प्रदेशको शान्ति, सुरक्षालाई अझ चुस्त–दुरुस्त बनाएर लैजान सकिनेमा आफू ढुक्क रहेको उहाँले बताउनुभयो । उहाँले बागमती प्रदेशका १ सय २ ओटा कानुन निर्माण भैसकेको जानकारी दिनुभयो ।
‘करीब ३७ ओटा ऐन बनाउन बाँकी छ,’ उहाँले भन्नुभयो, ‘ त्योसँगै केही कानुन र ऐन पनि बनाउन बाँकी छ । त्यो काममा मेरो ध्यान जाने छ ।’ कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्री शाक्यको बौद्धिकताको चर्चा गर्दै जति समय रहे पनि उहाँबाट राम्रो काम हुने अपेक्षा गरेको बताउनुभयो । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्द शाक्यले पनि शाक्य बागमती प्रदेशको मन्त्री बन्नु वडा–२१ बासीको मात्रै गौरव नभई बागमती प्रदेशका जनताले बौद्धिक व्यक्तित्व प्राप्त गरेको बताउनुभयो । ‘उहाँ बौद्धिक व्यक्ति हो,’ मेयर शाक्यले भन्नुभयो, ‘तपाईको क्षमता यहाँ प्रस्तुत गर्नुहोला शुभकामना ।’
