हेटौंडा, १७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले भारतीय सुरक्षाकर्मीले तुइनको डोरी काटीदिएको घटना समेत देउवा सरकारले बंग्याउन खोजेको बताएका छन् ।
सत्तामा पुग्न र टिक्क विदेशीको मुख ताक्ने आत्मसमर्पणवादी मानसिकता र प्रवृत्तिले मुकुकको हित नगर्ने बताउँदै थापाले जयसिंह धामीको घटना समेत बंग्याउन सरकार बाध्य भएको आरोप लगाएका छन् । वर्तमान सरकारले मृतक धामीलाई न्याय दिलाउने आशा आफूलाई नभएको समेत उनले बताएका छन् ।
आज बिहीबार मकवानपुरको बकैया गाउँ पालिका–३ हात्तिसुढेमा पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष थापाले भने, ‘जयसिंह धामीलाई सरकारले न्याय दिनुपर्छ तर त्यस्तो छाँटकाँट देखिँदैन । न्याय दिलाउने नाममा सत्ता नै धरमर हुने अवस्था आएपछि सरकार घटनाप्रति मौन भएको छ ।’
धर्म, संस्कृति र पहिचान समाप्त पारेर समृद्धिको चाहना सम्भव नहुने भन्दै थापाले राष्ट्रियता, स्वाधीनतासँगै धर्म, संस्कृति पहिचान जोगाउन नेपाली जनता एकजुट हुनुपर्नेमा पनि जोड दिएका छन् । लोभ, लालच र भ्रमको राजनीति टिकाउ नहुने भन्दै थापाले कुप्रचार र षड्यन्त्र चिरेर उच्च मनोबलसहित स्थानीय तहको निर्वाचनको तयारीसहित अगाडि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।
कार्यक्रममा राप्रपाका नेताहरु राजाराम बर्तौला, गुरु प्रसाद सापकोटा, सागर थापा, बद्री कुँवर, दामोदर वाग्ले, प्रेमलाल श्रेष्ठ, अर्जुन तिमल्सिना, भरत लामिछाने, राजाराम अर्याल, भृगु कार्की लगायतको उपस्थिति थियो ।
FACEBOOK COMMENTS