काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)का छोरा प्रतीक थापाले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै भएको ठगी प्रकरणमा अनावश्यक रुपमा आफ्नो नाम मुछिएको दाबी गरेका छन्।
आफ्नो नाममा पक्राउ पूर्जी जारी भएपछि एक विज्ञप्ति जारी गर्दै थापाले आफूविरुद्ध अहिले पनि ‘गलत अभिप्रायका साथ तथ्यहीन प्रचार र आरोपहरु लगाउने क्रम’ जारी रहेको बताएका छन्।
थापाले शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। तर संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरुप अनुसन्धान प्रक्रियालाई इमान्दारीपूर्वक सहयोग गर्ने थापाले बताएका छन्।
बिहीबार एक विज्ञप्तिमार्फत प्रतीकले भनेका छन्, ‘मविरुद्ध आज पनि गलत अभिप्रायकासाथ तथ्यहीन प्रचार र आरोपहरू लगाउने क्रम जारी छ । राजनीतिक प्रतिशोधजस्तो देखिने यस्ता आरोपहरूले भविष्यमा कस्तो किसिमको संस्कारलाई बढावा दिने हो ? भन्ने कुरा बुझ्न जरुरी छ । हामीले गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्दा जनताका लागि सधैँ न्यायको पक्षमा काम गरेका छौँ ।’
उनले आफ्नो बुबा गृहमन्त्री भएको बेलामा जनसरोकारको विषयमा कोही कसैसँग सम्झौता नगरी उच्च प्राथमिकताका साथ कटिबद्ध भएर काम गरेको उल्लेख गरेका छन् ।
उनले थपेका छन्, ‘मेरो राजनीतिक जीवनमा कुनै व्यक्तिगत इच्छा छैन । मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झूटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गर्दछु ।’
FACEBOOK COMMENTS