काठमाडौँ, भदौ १३। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिले नै कुनै पार्टीसँग एकता सम्भव नरहेको बताएका छन्।
एमालेबाट विभाजित भएर बनेको नयाँ पार्टीको पहिलो संसदीय दलको बैठकलाई आइतवार बानेश्वरमा सम्बोधनका क्रममा अध्यक्ष नेपालले यसो भनेका हुन्।
‘देशभरी हाम्रो संगठन बनिसकेको छ। अहिले नै कुनै पार्टीसँग हामी एकता गर्न गइरहेका छैनौँ’, नेपालले भने, ‘हामी कसैको टाङमुनि छिर्न जाँदैनौं। हामी अरु पार्टीको कार्यकर्ता हुन जाँदैनौं।’
नेता नेपालले आफ्नो पार्टीको संगठन देशभरी रहेको बताए। ‘हाम्रो संगठन देशभरी छ, जिल्लादेखि गाउँ, वडा र टोलसम्म हाम्रो संगठन बनिसकेको छ’, नेपालले भने, ‘हाम्रो उपस्थिति टोल टोलमा रहेकाले त्यसबाट हामी संगठन बलियो बनाउँछौँ।’
पार्टीभित्र लोकतान्त्रिक पद्धतिलाई स्वीकार्दै अगाडि बढ्ने उनले बताए। मुलुक र जनताको हितका लागि क्रियाशील रहने पनि नेपालले बताए।
आउँदो पुस्तालाई जिम्मेवारी सुम्पिँदै अघि बढेको बताउँदै उनले अहिले फिँजाइएका भ्रमलाई चिर्ने जानकारी दिए। राष्ट्र र जनताको स्वार्थ नै आफूहरूको स्वार्थ रहेको बताएका उनले बाह्य मुलुकहरूसँग हातेमालो गर्दै अघि बढ्ने बताए ।
वैदेशिक हस्तक्षेपलाई अस्वीकार गर्ने र पञ्चशीलको सिद्धान्तलाई आत्मसाथ गर्दै एकीकृत समाजवादी अघि बढ्ने अध्यक्ष नेपालको भनाइ छ ।
नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै पद जाने भएपछि कुर्सी नै भाँचिदिन खोजेको पनि बताए।
‘आफू सरकारमा नरहने भएपछि कुर्सी भाँचिदिने काममा लागे। वामपन्थी मिलेर सरकार चलाएको भए राम्रो हुन्थ्यो’, उनले भने, ‘तर ओलीजी दक्षिणपन्थीसँग मिल्न पुगे। उनी वचनको पक्का छैनन्, इमान्दार छैनन्।’
ओलीका कारण कयौँ नेता पीडित रहेको पनि उनले बताए। ‘म आफैँ पीडित छु, कयौँ नेता ओलीबाट पीडित छन्। वामदेव गौतम सबैभन्दा पीडित हुन्’, उनले भने, ‘ओलीले बोलेको कुरामा ताली बजाउनुपर्ने, आँखा चिम्लिदिनु पर्ने बाध्यता थियो। तर उनी आफैँ अल्पमतमा परेपछि बैठक छाड्दै हिँडे।’
ओलीले आफ्नो कुर्सी धरापमा परेपछि प्रतिनिधिसभा भंग गरिदिएको पनि नेपालले बताए। ‘दुई पटक प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी कदम चाले’, उनले भने, ‘बजेट जनताको जीवन र स्वास्थ्यमा लानुपर्नेमा चुनावमा बजेट खर्च गरेर देशलाई दुर्घटनातर्फ लैजान खोजे।’
ओली जस्तो झुटो बोल्ने नेता आफूले नदेखेको पनि उनले बताए। ‘यतिसम्म झुटो बोल्न सक्ने मान्छे पार्टी अध्यक्षको कुर्सीमा बसेका छन्’, ओलीले भने, ‘एमालेको ढोका बन्द गरिदिएर जाऊ भनेपछि नयाँ पार्टी खोल्यौँ। विभाजनको कदमको सुरुवात उनले नै पुस ५ मा चाले। त्यसपछि फागुन २८ मा एमाले विभाजनको कदम उनले नै चालेका हुन्।’
फागुन २८ मै ओलीले आफूहरुलाई एमालेको ढोका बन्द गरिसकेको पनि उनले बताए। ‘फागुन २८ मा हामीलाई ढोका बन्द गरिसकेका थिए। तर फेरि पार्टी फुटाएर चिया बिस्कुट खान बोलाए ओलीले’, उनले भने, ‘हामी कसरी जानु चिया खान त्यहाँ? ओलीविरुद्ध विद्रोह फुकेर दुई महिने संगठन सुदृढीकरण अभियान चलाएका थियौँ। त्यति बेलै नयाँ पार्टी खोलौँ भन्ने भएको थियो। तर ढिला भए पनि अब हामी नयाँ यात्रामा छौँ।’
FACEBOOK COMMENTS