काठमाडौँ। वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका क्षेत्रमा नमूना काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल वातावरण पत्रकार समूहले आइतबार आयोजना गरेको वातावरण संरक्षण दिगो विकासका वर्तमान चुनौती विषयक कार्यक्रममा उनले आफू र आफ्नो मन्त्रालय विकासको बाधक नभएको बताए ।
उनले भने, “म र मेरो मन्त्रालय विकासको बाधक होइन, म जति दिन मन्त्रालयमा रहन्छु, त्यति दिन नमूना काम गर्नेछु ।” मन्त्री यादवले वन तथा वातावरण मन्त्रालय ताली खाने भन्दा पनि गाली खाने मन्त्रालय भएको उल्लेख गर्दै भने, “रूख काट्ने अनुमति दिऊँ मन्त्रीले वन विनाश गर्यो, वन मारा मन्त्री आयो भनेर गाली गर्छन्, रूख काट्ने अनुमति नदिउ विकास रोक्यो, विकास विरोधी मन्त्री आयो भन्छन् ।”
मन्त्री यादवले आमनागरिक, नागरिक समाज, विज्ञ एवं पत्रकारका राय, सुझावका आधारमा आफूले काम गर्ने प्रतिबद्धता बताए। वन तथा वातावरणका क्षेत्रमा निश्वार्थ भावना लिएर राम्रो काम गर्नुका साथै वन क्षेत्र जोगाउनमा उल्लेख्य योगदान गर्ने विश्वास दिलाउँदै मन्त्री यादवले नेपाल वातावरण पत्रकार समूह तथा पदाधिकारीलाई धन्यवाद व्यक्त गरे ।
