विकासका लागि नयाँ अभ्यासको थालनी गर्छु : विष्णु पौडेल
कर्पोरट खबर
6:25 pm, आइतबार, कात्तिक २७, २०७९
काठमाडौँ । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका लागि नयाँ अभ्यासको थालनी गरिने बताएका छन् । अब नयाँ अभ्यासका रूपमा एकीकृत विकासको अवधारणा अघि सारिने उनले बताए ।
आगामी मंसिर ४ को निर्वाचन लक्षित घरदैलो कार्यक्रम अन्तर्गत रुपन्देहीको सैनामैनाका विभिन्न वडामा जनतासँग भेटघाट गर्दै पूर्व अर्थमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका उम्मेदवार पौडेलले अब टुक्रे योजनाभन्दा पनि ती सबै आवश्यकतालाई एकीकृत गरी योजनाबद्ध विकास गरिने बताए ।
उनले भौतिक पूर्वाधारको विकाससँगै अव मानवीय विकास र रोजगार सिर्जनामा केन्द्रित हुने बताए । प्रत्येक जनताका घरपरिवारको तथ्याङ्क सङ्कलन गरी आवश्यकता अनुसार सीप तथा क्षमता विकास गरी रोजगारीको सिर्जना गरिने बताए । जनताले राख्ने गरेका पुल–पुलेसा, बाटो, खानेपानी, विद्युत् तथा शिक्षा स्वास्थ्यलगायतका सबै आवश्यकताहरूलाई पूरा गर्ने गरी एकीकृत गुरुयोजना निर्माण गरेर व्यवस्थित सहरको विकास गरिने उनले बताए ।
सिङ्गो रुपन्देहीलाई अन्य ठाउँबाट विकास सिक्न आउने नमुनाका रूपमा विकास गर्ने आफ्नो योजना रहेको बताउँदै उनले जनतामा विकासको भोक पल्हाउन थालेको बताए । नेकपा एमालेको सरकार हुँदा सुरु गरिएका विकास आयोजनाले जनतामा विकास भोक जनाएको बताउँदै उनले जनतामा विकास आवश्यकताहरू बारे खुलेर बोल्नसक्ने अवस्थाको विकास भएको उल्लेख गरे ।
यसै गरी रुपन्देही क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभा सदस्यका उम्मेदवार भोजप्रसाद श्रेष्ठले नेकपा एमालेले आश्वासन हैन ग्यारेण्टीका कुरा गर्ने बताए । दलहरुले आफ्ना चुनावी घोषणापत्रमा आश्वासन मात्रै बाढेर नहुने बताउँदै उनले ती योजनाहरू पूरा गर्न सक्छौँ भनी जनतासामू ग्यान्टि गर्नुपर्ने उल्लेख गरे । ‘
‘अब आश्वासन होइन, हामी ग्यारेन्टीका कुरा गर्छौ, सोही अनुसार एमालेको घोषणापत्रमा २० ग्यारेन्टी समेटिएका छन्,’ श्रेष्ठले भने, नेकपा एमालेले जनतासँग गरेका ग्यारेन्टि पूरा गर्न प्रतिबद्ध छ ।’ आगामी मंसिर ४ को निर्वाचनमा ढुक्क भएर सूर्यमा मतदान गर्न आग्रह गर्दै उनले मुलुकको समृद्धिका लागि एमाले मात्रै सक्षम दल भएको दाबी गरे ।
FACEBOOK COMMENTS