काठमाडौं । लगातार ३ वटा दशैं जेलभित्र बिताएका अर्बपति व्यवसायी इच्छाराज तामाङले आगामी दशैं जेलबाहिर बनाउन पाउने भएका छन् ।
विशेष अदालतले सम्पत्ति शुद्धीकरण अभियोगमा तामाङलाई दोषी ठहर गर्दै ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने फैसला गरेको छ । उक्त जरिवाना भरे तामाङ ७ महिनामा छुट्ने छन् ।
उनी २०७८ साल असोज १७ गते प्रकाउ परेका थिए ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार तामाङ जेल परेकै मितिबाट सजाय गणना हुन्छ । जसअनुसार उनले यसअघि नै २ वर्ष ५ महिना हिरासतमा बिताएकाले अब ७ महिना जेल बसेपछि निस्कन सक्छन् । तर, जरिवाना भने तिर्नुपर्छ । जरिवाना नतिरेको अवस्थामा मात्रै थप समय जेल बस्नुपर्छ ।
एमालेका तर्फबाट सांसदसमेत बनिसकेका तामाङले सहकारीका बचतकर्ताको ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ ठगी गरेको दाबी सहित अदालतमा यसअघि नै मुद्दा दायर भएको छ ।
FACEBOOK COMMENTS