काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका सिभिल सहकारीका सञ्चालक तथा संविधानसभा सदस्य इच्छाराज तामाङको सम्पत्ति जफत हुने भएको छ ।
आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनको सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरणमा मुद्दामा दोषी ठहर गरेको थियो । तामाङ दोषी देखिएसँगै उनको सम्पत्ति जफत हुने भएको हो ।
उनी सञ्चालक रहेको २१ वटा कम्पनीले कारोबार गरिरहेको अनुसन्धानमा देखिएको छ । ती मध्ये सबभन्दा बढी सिभिल होम्समा तामाङको लगानी रहेको छ । सिभिल होम्स राजधानीमा निकै लोकप्रिय हाउजिङ कम्पनी हो । ललितपुर भैंसीपाटीबाट सुरू भएको सिभिल होम्स काठमाडौं उपत्यकाको विभिन्न ठाँउमा फैलिएको छ ।
अनुसन्धानको क्रममा उनकी श्रीमती शाक्यका नाममा कीर्तिपुरमा १५ रोपनी जग्गा रहेको देखिएको थियो । यसबाहेक इच्छाराजको नाममा सिटिसी मलमा ५० प्रतिशत लगानी देखिएको थियो भने सिभिल बैंकमा उनको व्यक्तिगत ३५ करोड लगानी पनि देखिएको थियो ।
इच्छाराजको जफत सम्पत्तिबाट सहकारी पीडितले बचत फिर्ता पाउने
तामाङले सहकारीबाट ऋण निकाल्दा सुन्धारास्थित ६ रोपनी जग्गा र त्यसमा निर्माण भएका १३२ इकाइ पसलहरू धितोमा राखेका थिए । अब यो सम्पत्ति पनि जफत हुने भएको छ । १६ भदौ २०७९ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराज, उनकी पत्नी सिर्जना, दुई छोरी प्रतीक्षा र प्रतिष्ठा तथा मामाससुरा केशवराज श्रेष्ठ र मीनाकुमारी श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।
सहकारीको रकम आफ्ना विभिन्न कम्पनीमा लगानी गरेको र कम्पनीको नाफा अन्यत्र लगानी गरेको आरोपमा सिभिल सहकारीका तत्कालिन अध्यक्ष, उनकी पत्नी, छोरीहरू र नातेदार विरुद्ध मुद्दा दायर गरेको थियो । १६ भदौ २०७९ मा दायर भएको मुद्दामा सिभिल होम्सका अध्यक्ष समेत रहेका इच्छाराज तामाङ विरुद्ध ३ अर्ब ३१ करोड विगो सहित उनको नाममा रहेको जग्गा र अरु सम्पत्ति जफत हुनुपर्ने मागदाबी गरेको थियो ।
विभागले इच्छाराजकी पत्नी सिर्जना शाक्य तामाङसँग एक अर्ब ३० करोड विगो मागदाबी गरेको छ । मुद्दा दायर हुने बेलामा भने उनले पतिसँग सम्बन्धविच्छेद गरेकी थिइन् । विभागले सृजनासँग भएको सवारीसाधन र जग्गा जफत हुनुपर्ने मागदाबी पनि गरेको थियो । इच्छाराजले आफूले गैरकानुनी रूपमा कमाएको सम्पत्ति छोरीहरू प्रतीक्षा र प्रतिष्ठाको नाममा लुकाएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको दाबी थियो ।
त्यसैले छोरी प्रतीक्षाको नाममा रहेको ६ करोड ४७ लाख रूपैयाँ, घरजग्गा र शेयर समेत जफत हुनुपर्ने माग गरेको थियो । अर्की छोरी प्रतिष्ठाको नाममा रहेको एक अर्ब ८९ करोड रूपैयाँ, घरजग्गा र शेयर जफत हुनुपर्ने मागदाबी पनि विभागले गरेको थियो । सिभिल सहकारीका अध्यक्ष तामाङले आफू २०७० सालको संविधानसभामा नेकपा एमालेको तर्फबाट सदस्य चयन भएपछि सहकारीको जिम्मा मामाससुरा केशवलाल श्रेष्ठलाई लगाएका थिए ।
अनुसन्धानका क्रममा केशवलालले पनि सरकारीको रकम हिनामिना गरी सम्पत्ति जोडेको भेटिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकारीहरू बताउँछन् । विभागले केशवराजमाथि २६ करोड ६१ लाख बिगो, बैंकमा बचत रहेको रकम र सवारीसाधन जफत गर्नुपर्ने विभागको मागदाबी थियो । त्यसैगरी मीनाकुमारी श्रेष्ठमाथि पनि बिगो र विभिन्न ठाँउमा रहेको जग्गा जफत हुनुपर्ने मागदाबी थियो ।
विभागले सिभिल सहकारीको ठगी मुद्दामा संलग्न भएका र सम्पत्ति जोडेकाहरूले कुल ४ अर्ब ९७ करोड रूपैयाँ गैरकानुनी आर्जन गरेको निष्कर्ष निकालेको थियो । उक्त रकम रकम असुल्नुपर्ने भन्दै उसले त्यति नै जरिवाना र सम्पत्ति जफतको मागदाबी गरेको थियो ।
FACEBOOK COMMENTS