काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको ७ वर्ष अवधि भएको तथा वार्षिक ९ प्रतिशत ब्याजदरको ‘९% आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ नामक ऋणपत्र बाँडफाँट गरिएको छ ।
कुमारी क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा प्रतिइकाइ एक हजार अंकित दरका ३० करोड रूपैयाँ बराबरका तीन लाख कित्ता ऋणपत्र बाँडफाँट गरिएको हो ।
कुल ऋणपत्रमध्ये १८ करोड रूपैयाँ रकम बराबरको एक लाख ८० हजार कित्ता ऋणपत्र परिपत्र विधिबाट र १२ करोड रूपैयाँ बराबरको एक लाख २० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक प्रक्रियाबाट निष्कासन तथा बिक्री खुल्ला गरिएको थियो । निष्कासन अवधिमा प्राप्त आवेदनउपर नीतिगत छलफल गरी विभिन्न व्यक्तिहरूको उपस्थितिमा आइतबार ऋणपत्र बाँडफाँट गरिएको हो ।
धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्रअनुसार आईसीएफसी फाइनान्स लिमिटेडकोे परिपत्र विधिमार्फत एक हजार रूपैयाँ अंकित दरका एक लाख ८० हजार कित्ता ऋणपत्र निष्कासन गरिएको थियो । तीन लाख कित्ता ऋणपत्रका लागि आवेदन प्राप्त भएकामा माग गरेको कित्तामा समानुपातिक रूपमा एक लाख ८० हजार कित्ता ऋणपत्र बाँडफाँट गरिएको छ ।
यस्तै सर्वसाधारणतर्फ एक हजार रूपैयाँ अंकित दरका एक लाख २० हजार कित्तामध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको छ हजार कित्ता बाँडफाँट गरी बाँकी रहेको १ लाख १४ हजार कित्ता ऋणपत्र माघ ९ गतेदेखि १३ गतेसम्म बिक्री खुल्ला गरिएको थियो । सात हजार दुई सय ४७ जना आवेदकहरूबाट छ लाख ३१ हजार तीन सय ५७ कित्ता ऋणपत्रका लागि आवेदन पर्न आएकामा स्वीकृत विवरणपत्रमा भएको व्यवस्थाअनुसार गोला प्रथा विधिद्वारा चार हजार पाँच सय ६० जना आवेदकहरूलाई एक लाख १४ हजार कित्ता ऋणपत्र बाँडफाँट गरिएको छ ।
FACEBOOK COMMENTS