काठमाडौँ । सिभिल सहकारीका बचतकर्ताले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई कडा कारवाही गर्न दबाब दिएका छन् ।
सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङबाट ठगिएकाहरु काठमाडौंको माइतीघरमा भेला भएर तामाङ, उनकी श्रीमती सिर्जना शाक्य तामाङ र हालका अध्यक्ष केशवलाल श्रेष्ठसहितलाई कारवाही गरेर आफूहरूमाथि न्याय गर्न माग गरेका हुन् । पीडित वचतकर्ताहरूले संगठित ठगीका गिरोहलाई कारवाही गर्नुपर्ने, कानून सुधार गर्नुपर्ने, आफूहरूको बचत फिर्ता गर्नुपर्ने भन्दै सरकारसँग माग गरेका छन् ।
इच्छाराजविरुद्ध अनुसन्धान सकेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सरकारी वकिललाई प्रतिवेदन बुझाइसकेको छ । प्रहरीले बुझाएको प्रतिवेदनमा ८ वर्ष कैद र ५ अर्ब ५९ करोड रूपैयाँ बराबरको जरिवाना माग गरिएको छ । एक हजार ४ सय ८७ जनाले ठगी गरेको भन्दै उजुरी दिएको आधारमा प्रतिवेदन पारिएको हो ।
पीडितहरुले विज्ञप्ति जारी गर्दै विरोधमा उत्रिएका हुन् । ’सहकारीका निर्णायक सल्लाहकार तथा पूर्वअध्यक्ष इच्छा राज तामाङ, उनकी श्रीमती सिर्जना शाक्य तामाङ र हालका अध्यक्ष केशव लाल श्रेष्ठ समेतको मिलोमतोमा ८ अर्ब ५७ करोड ३८ लाख भन्दा बढी रुपैया यस सहकारीबाट गैर कानुनी रुपले विना धितो उनीहरुका निजी हाउसिङ कम्पनीहरु सिभिल होम्स, सिभिल अपार्टमेन्ट्स र सिभिल इस्टेट्स) मा २०६३ साल देखि विभिन्न समयमा रिणको रुपमा लगेका र अहिलेसम्म उक्त ऋणको साँवा तथा व्याज नतिरी यो सहकारीलाई धरासायी बनाउन खोजिएको छ ।
पीडितहरूको विज्ञप्तिमा भनिएको छ, ‘हामी बचतकर्ताहरुले गत २ वर्ष देखी आफ्नो बचतखातामा रहेको रकम पाएका छैनौं । त्यसैले हामीलाई दैनिक खर्च टार्न तथा औषधी उपचार गर्न पैसाको ज्यादै ठुलो अभाव भएको छ । पैसाको अभावले शल्यक्रिया गर्न र औषधी उपचार गर्न नपाएर ८ जना बचतकर्ताहरुको मृत्यु समेत भइसकेको कुरा हामी यहाँहरुलाई अवगत गराउन चाहन्छौँ ।’
FACEBOOK COMMENTS