काठमाडौं । वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) चैत १८ गतेदेखि निजी क्षेत्रले सञ्चालन गर्ने भएको छ ।
नेपाल इन्टरमोडल यातायात विकास समितिले ५ वर्षका लागि आईसीपी सञ्चालन तथा व्यवस्थापन गर्न निजी क्षेत्रलाई दिएको छ । बुधबार टीआरएस हिमालयन लेजिपार्क प्रालि नामक कम्पनीका माधव प्रसाद बराल र समितिका उप निर्देशक हरेकृष्ण मिश्रले सम्झतौ पत्रमा हस्ताक्षर गरेका छन् ।
१ अर्ब ८० करोड ९० लाख १ हजार २०० रुपैयाँमा टर्मिनल (सुक्खा बन्दरगाह, एकीकृत जाँच चौकी र कन्टेनर फ्रेट स्टेसन) हरुको सञ्चालन गर्ने भएको छ ।
२०७४ चैत २४ देखि सञ्चालनमा आएको आईसीपी इन्टरमोडल यातायात विकास समितिले आन्तरिक व्यवस्थापनबाट सञ्चालन तथा व्यवस्थापन गरिरहेको छ । २०७९ साउन ११ गते समितिले टर्मिनल पट्टाबहालमा दिने सम्बन्धी नियमावली, २०७० बमोजिम अन्तर्राष्ट्रिय स्तरको प्रस्ताव (बोलपत्र) आह्वान गरेको थियो ।
जसमा ५ वटा कम्पिनी सहभागी भएका थिए । नेपालको विन्दबासिनी लजिस्टिक्स प्रालि र भारतका टिआरएस लिफ्ट एण्ड सिफ्ट सर्भिसेज प्रालि तथा एपीजे सिपिङ लिमिटेड कम्पनीले संयुक्त रुपमा ठेक्का पाएको थियो । यसको नाम भने कैलाश टर्मिनल्स जेभी राखिएको छ ।
कम्पनीले टर्मिनलको सञ्चालन, आयात तथा निर्यातका क्रममा वस्तुहरुको ओसारपसार, भण्डारण, रेखदेख, मर्मत सम्भार, पूर्वाधार निर्माण, टर्मिनलभित्र रहेका मेसिनरी औजार, उपकरण, ढुवानी साधन आदिको व्यवस्थापन गर्नेछ ।
एकै स्थानबाट भन्सार, आप्रवासन, क्वारेन्टाइन, सीमा सुरक्षा जस्ता संस्थाहरु ल्याएर मानवीय तथा मालसामानको अन्तरदेशीय आवत जावतलाई झञ्झटरहित बनाउने उद्देश्यले भारतले नेपाल र आफ्नो भूमिमा समेत आईसीपी निर्माण गरिदिएको छ । नेपालको आधा भन्दा बढी अन्तर्राष्ट्रिय आयात निर्यात कारोबार आईसीपीबाटै हुने गरेको छ ।
FACEBOOK COMMENTS