आईहब प्रालि नेपालमा अमेरिकी कम्पनी सेगवे र चिनियाँ कम्पनी नाइनबोटको जोइनभेञ्चरमा उत्पादित इलेक्ट्रीक टू–ह्विलर (स्कुटर)को अधिकृत विक्रेता हो ।
आईहबले विगत केही वर्षयता सेगवेका विभिन्न सिरिजका विद्युतीय स्कुटरहरू आयात तथा विक्री गर्दै आएको छ । पछिल्लो समय पेट्रोलियम पदार्थमा पटक–पटक हुँदै आएको मूल्यवृद्धि, महङ्गो भन्सार शुल्कमा गाडी तथा मोटरसाइकल र त्यसका पार्टपूर्जा आयातबाट भइरहेको पुँजी पलायन रोक्न र नेपालको शहरी क्षेत्रको वातावरणीय सुरक्षाका लागि पनि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्ने बताउँछन् आईहब प्रालिका प्रबन्ध निर्देशक लोकेश ओली ।
अब नेपालले विद्युतीय सवारी साधनलाई बढावा दिन ढिलाइ गर्न हुँदैनहुने तर्क उनको छ । डिजेल तथा पेट्रोलबाट चल्ने गाडी र मोटरसाइकललको आयात अब सरकारले नै क्रमशः बन्द गर्दै जानुपर्ने बताउने उनी नेपाल भित्रिने नयाँ–नयाँ मोडलको गाडी चढ्ने बहानामा मुलुकबाट सहजै पुँजी पलायन भइरहेको बताउँछन् ।
आउँदा दिनमा विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिने हो भने कम्तीमा डिजेल तथा पेट्रोल खरीद गर्दा बाहिरिने पैसा नेपालमै रोकिने बलियो तर्क गर्ने ओलीसँग कर्पोरेट खबरका कार्यकारी सम्पादक ज्योति जीसीले विद्युतीय सवारी साधनको फाइदा, बेफाइदा र नेपालको भौगोलिक बनावटमा कत्तिको उपयुक्त छलगायत विषयसँग केन्द्रित रहेर विशेष कुरानी गरेका छन् ।
प्रस्तुत छ, उनीसँगको कुराकानी (भिडियोसहित)

नेपालमा विद्युतीय सवारी साधनको विक्रीवितरणको अवस्था कस्तो ?

सबै भन्दा पहिला त म नेपालमा इलेक्ट्रीक भेइकल चलोस्, चारचक्के होस् वा दुई चक्के ती सबै सवारी साधन विद्युतीय नै होउन् भन्ने चाहान्छु । किनभने यो नै अबको भविष्य हो । अब हामीले कहिलेसम्म विदेशबाट आयात गरिएको इन्धन हालेर गाडी कुदाउने ? कम्तीमा नेपालले विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राख्यो भने इन्धन खरीद गर्दा जुन पैसा विदेसिन्छ त्यो त रोकिन्छ ।

त्यतिमात्र होइन, नेपालमा यति धेरै विद्युत् उत्पादन हुँदैछ कि हामी विद्युत् बेच्नका लागि क्रेता खोजिरहेका छौं । म त भन्छु विद्युत् किन्ने क्रेता खोज्नुअघि मुलुकमै विद्युत् खपतबारे सबैले सोच्नु आवश्यक छ । यही जिजुलीबाट मोटरगाडी चलाऔं र इन्धन आयातलाई क्रमशः घटाउँदै जाउँ भन्ने मेरो व्यक्तिगत विचार पनि छ । यो हिसाबले पनि म इलेक्ट्रीक भेइकललाई धेरै प्रमोट गर्छु ।
यसै सिलसिलामा हामीले पनि इलेक्ट्रीक टू–ह्वीलर ल्याएका छौं । यो अमेरिकी कम्पनी सेगवे र चाइनिज कम्पनी नाइनबोटको जोइनभेञ्चरमा उत्पादित स्कुटर हो । यसको विक्री नेपालमा राम्रै भइरहेको छ ।
मरो जोड छ कि, अब हामीले कहिलेसम्म अरूले उत्पादन गरेको पेट्रोल तथा डिजेल (फ्युल)मा आश गरेर बस्ने ? किनभने फ्युल त हामीकहाँ उत्पादन हुँदैन, उत्पादन हुने भनेको बिजुली हो । भनेपछि आफ्नै देशमा उत्पादन हुने ऊर्जा खपत गर्यौं भने पो नेपालको धनराशी पलायन हुनबाट जोगिन्छ ।
हाम्रो भू–बनावटको अवस्थितिलाई दृष्टिगत गर्ने हो भने नेपाल विद्युतीय सवारी साधनको उपयुक्त बजार बन्न सक्छ ?
यो सन्दर्भमा हाम्रो बुझाई गलत हो भन्ने मलाई लाग्छ । किन भने सवारी साधन भनेको सवारी साधन हो, खाली त्यसलाई चलाउने तरिका मात्रै फरक हो । जस्तो अलिक पहिला पानीको वाफबाट ट्रेन चल्थ्यो, त्यसपछि डिजेल हुँदै अहिले इलेक्ट्रीक ट्रेन आएको छ । तर, जुन शक्ति प्रयोग गरेर चलेको भए पनि त्यो त ट्रेन नै हो नि ।
त्यस्तै कुरा हो, अहिले हामीले प्रयोग गर्ने सवारी साधन डिजेल र पेट्रोलबाट चलाइरहेका छौं । त्यही ठाउँमा विद्युत् शक्तिले चलाउने मात्रै भनिएको हो । सवारी साधन भन्ने बित्तिकै जहाँ पनि गुड्नुपर्यो, हिलो, उकालो, ओरालो वा अरु ठाउँ भन्ने कुरै छैन । त्यसकारण हाम्रो भू–बनावटमा इलेक्ट्रीक भेइकलहरू चल्दैनन् कि भन्ने हाम्रो सोच केवल भ्रम हो । यो आफ्नो क्षमता अनुसार जस्तो बाटोमा पनि कुदाउन सकिन्छ । बरु रेञ्ज कति दिने भन्ने चाहिँ प्रश्न हो ।
जस्तोः डिजेल र पेट्रोलबाट चल्ने भेइकलले पनि उकालोमा बढी तेल खपत गर्छ, ओरालो आयो भने कम खपत गर्छ । त्यस्तै हो इलेक्ट्रीक सवारी पनि । कुन ठाउँमा ब्याट्रीको पावर कति दिने हो भन्ने कुराले अर्थ राख्छ । त्यसकारण म भन्छु, विद्युतीय सवारी साधन र पेट्रोल तथा डिजेलयुक्त सवारी साधनमा केही फरक छैन, चलाउने तरिका मात्रै फरक हो ।
विद्युतीय सवारीको बजारीकरणका लागि ठाउँ–ठाउँमा पेट्रोल पम्प भएजस्तो चार्जिङ स्टेशनहरू पनि त बनाउनु पर्ला ?
अहिलेको अवस्थामा हामी जहाँ बस्छौं त्यहीँ चार्ज गरेर चलाउने सन्दर्भमा धेरैको रोजाई इलेक्ट्रीक भेइकल भइसकेको छ । हो, चार्जिङ स्टेशनहरू नहुँदा लामो रुटमा इलेक्ट्रीक भेइकल जान सकिरहेको छैन । यद्यपि, काठमाडौंबाट चितवन, हेटौंडा, पोखरा वा वीरगञ्जको दूरीसम्म चल्ने इलेक्ट्रीक भेइकलहरू नेपालमा उपलब्ध हुन थालिसकेका छन् । त्यो भन्दा टाढा–टाढा जानुपर्यो भनेचाहिँ चार्जिङ स्टेशनको अभाव देखिएको छ ।
तर, यसका लागि पनि कामहरू भइरहेका छन् । अर्को कुरा, हामीले जति धेरै इलेक्ट्रीक भेइकल भित्र्याउँछौं र प्रयोग बढाउँछौं सोहीअनुरूप चार्जिङ स्टेशनहरू निर्माणको क्रम बढ्ने हो । अहिले त हामीले इलेक्ट्रीक भेइकल नै धेरै प्रयोगमा ल्याएका छैनौं भने चार्जिङ स्टेशनमात्रै खोजेर पनि भएन । चार्जिङ स्टेशनका लागि गाडी चाहियो, गाडीका लागि चार्जिङ स्टेशन । यी दुवै एक–आपसका परिपुरक हुन् ।
तर, म के भन्छु भने चार्जिङ स्टेशन नै छैन भनेर विद्युतीय सवारी प्रयोग नगर्ने वा नकिन्नेचाहिँ गर्नु हुँदैन । यदि यसो गरियो भने सबैलाई धोखा हुनेवाला छ । किनभने भविष्य भनेको विद्युतीय सवारी साधनकै हो ।
अहिले तपाईंहरूले विक्री गर्दै आउनुभएको दुईपाङ्ग्रे सवारीका लागि चार्ज गर्ने के–कस्तो व्यवस्था छ ?
अहिले छोटो दूरीका प्रयोगकर्ताहरूले सामान्य ढङ्गले घर–घरमै चार्ज गरिरहेको अवस्था छ ।
विद्युतीय सवारी साधनहरूको मूल्य कत्तिको महङ्गो छ, ब्याट्री कति टिक्छ, सर्भिसिङ गरिरहन पर्छ कि पर्दैन, पुरानो भएपछि के गर्ने, आईहबले कुन–कुन सिरिजका कति–कति मूल्य पर्ने स्कुटर नेपालमा विक्री गर्दै आएको छ तथा सेगवेका स्कुटर किन्न कहाँ जानेलगायत प्रश्नको जवाफका लागि तलको भिडियो हेर्नुहोस्ः–
https://www.facebook.com/Corporatekhabar/videos/730770724974343