काठमाडौं । ‘ड्रेस टू इम्प्रेस’ को दशौं संस्करण हिजो शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।
फेसन डिजाइनरका विद्यार्थीहरूले तयार पारेका विविधतापूर्ण पहिरनहरू आफैँले प्रदर्शन गर्ने विशेषता बोकेको प्रतिस्पर्धात्मक प्रदर्शनीमा १२६ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा ६ महिनाको कोर्ष पूरा गरेका ती विद्यार्थीहरूले ‘ड्रेस टू इम्प्रेस’ को सिजन–१० मा विभिन्न चारवटा विधाका चार जना डिजाइनरहरू सर्वोत्कृष्ट भएका छन् ।
प्रतिस्पर्धामा सहभागी डिजाइनरहरूलाई पारामेट्रिक प्यालेस, मेगलफोबिक, क्यारिङ अवे इन डेजाभू तथा माइथोलोकिल गार्डेन गरी चार समूहमा विभाजन गरिएको थियो । प्रतियोगिता अन्तर्गत चारवटै विधाबाट एक–एक जना डिजाइनरको डिजाइन सर्वोत्कृष्ट घोषणा गरिएको हो ।
प्रज्ञा प्रतिष्ठानमा आयोजित यो फेसन प्रतियोगितामा ‘पारामेट्रिक प्यालेस’ विधातर्फ प्रतिस्पर्धी नम्बर ३ जिज्ञासा श्रेष्ठ सर्वोत्कृष्ट भइन् । उनले डिजाइन गरेको सेतो रङको पहिरन सर्वोत्कृष्ट भएको हो । ‘मेगलफोबिक’ शीर्षकको दोस्रो विधामा प्रतिस्पर्धी नम्बर ३६ खुश्बु सेवा सर्वोत्कृष्ट भइन् । उनले डिजाइन गरेको आकर्षक शैलीको पहिरनले प्रतिस्पर्धाका निर्णायकसंगै दर्शकको समेत मन जितेको थियो ।
यस्तै, तेस्रो विधा ‘क्यारिङ अवे इन डेजाभू’मा प्रतिस्पर्धी नम्बर ७७ सिलु बज्राचार्यले बाजी मारिन् । ‘माइथोलोजिकल गार्डेन’ शीर्षकको चौथो विधामा भने प्रतिस्पर्धी नम्बर ११३ ईन्द्रावती क्षेत्रीले डिजाइन गरेको पहिरन सर्वोत्कृष्ट भयो ।
समारोहमा आईआईएफटीबाट फेसन डिजाइनिङ कोर्ष पूरा गरेका ७६ जना विद्यार्थीहरूलाई ग्राजुएसन सर्टिफिकेट प्रदान गरिएको थियो । लोकप्रिय डिजाइनर यूबि थापाले उनीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिइन् । चारै जना विजेताहरूले नगद पुरस्कार प्राप्त गरे ।
विजेताहरूलाई कार्यक्रमका सभापति वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरि गोपाल प्रधानसहित निर्णायकहरूको समूहले नगद पुरस्कार, प्रमाणपत्र, स्यास हस्तान्तरण गरेका थिए । आईआईएफटीबाट पासआउट भएका एक सयभन्दा बढी डिजाइनरहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको यो प्रतिस्पर्धामा गायक उदय सोताङ, पत्रकार कृष्ण भट्टराईका साथमा डिजाइनरहरू कुसुम पदम श्रेष्ठ, महेश महर्जन, निशा श्रेष्ठ, गीता मिश्र तथा सुष्मा सिंह निर्णायकको रूपमा रहेका थिए ।
प्रतियोगितामा मिस नेपाल वर्ल्ड २०२३ श्रीच्छा प्रधान, व्यवसायी सुरबहादुर श्रेष्ठ, प्रदिपमान प्रधान, रोजल शाही, विज्ञापन विशेषज्ञ विवेक श्रेष्ठ, सञ्चारकर्मी उज्वल जंग शाह, अधिवक्ता लक्ष्मण महर्जन, वरिष्ठ सौन्दर्यकर्मी सुष्मा महरा, निर्देशक अनिल योञ्जन, सञ्चारकर्मी अरुणा भट्टराई, डिजाइनर यूबि थापा, फोटो पत्रकार प्रदीपराज वन्त, निर्माता हरि मल्ल ठकुरी, इन्टरप्रेनर शाहरूख हुसेन, राजनीतिककर्मी उज्वल कृष्ण श्रेष्ठ, डा.करीना भट्टराई आदि अथितिको रूपमा उपस्थित थिए ।
आईआईएफटीका प्रवन्धक निर्देशक फूपु तेन्जिङ शेर्पाले ‘ड्रेस टु इम्प्रेस’ कार्यक्रमलाई आईआईएफटीको नियमित कार्यक्रम भएको बताउँदै आईआईएफटीका विद्यार्थीको क्षमता अभिवृद्धिका लागि यो प्रतिस्पर्धा आयोजना गरिएको बताए । फेसन डिजाइनिङका विद्यार्थीहरूले हप्तौंदेखिको मेहनत लगाएर तयार पारेका आकर्षक तथा मौलिक पहिरनको प्रदर्शनसहितको ‘ड्रेस टु इम्प्रेस’ ले फेसन पारखीलाई नविनतम् फेसनको बारेमा जानकारी दिनुका साथै सर्वसाधारणमाझ फेसनको क्रेजसमेत बढाउने आईआईएफटीका निर्देशक शिवलाल श्रेष्ठको भनाइ छ ।
काठमाडौंको बागबजारस्थित बागबजार प्लाजा, कमलादीस्थित हेरिटेज प्लाजा तथा ललितपुरको कुमारी पाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङसँग इन्टेरिय कोर्ष अध्यापन गराउँदै आएको छ । आईआईआएफटीबाट सयौँको संख्यामा फेसन डिजाइनर उत्पादन भइसकेका छन् ।
हेरौँ कार्यक्रममा केही तस्बिरहरू–
FACEBOOK COMMENTS