काठमाडौँ । भैरहवा भन्सार कार्यालयले चोरी पैठारीको अवैध २ करोड बढिको सामान बरामद गरेको छ । चोरी निकासी भइरहेको छ भन्ने सूचना र लोकेसनको आधारमा अवैध रूपमा नेपाल भित्रिसकेका २ वटा पिक अप सहित एक गोदामबाट भारी मात्रामा विभिन्न बस्तु बरामद भएको हो ।
भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलको नेतृत्वमा गएको टोलीले बिहान साढे ५ बजे बुटवलबाट एक पिकअपबाट कपडा, बिहान ८ बजे कपिलवस्तुको पकडीबाट एक पिक अप सुर्ती र कपिलवस्तु चाकाचौडा नाकाको मायादेवी –८ बरकुलबाट उनीहरुले स्टक बनाएर राखेको गोदामबाट कपडा, जुत्ता, चप्पल, सुर्ति, गुटखाका प्याकिङ सामान, रेक्सीन लगायतका बस्तु बरामद गरेको हो ।
प्रारम्भिक तथ्याङ्क अनुसार २ करोड बण्किो सामान छ । बरामद सबै सामानको तथ्याङ्क सङ्कलन भइरहेको छ । ती सामान सबै लिलाम हुन्छ भने गोदाममा सामान मात्रै भेटिएकोले शङ्कास्पद व्यक्तिको पहिचान गरी मुद्दा दर्ता हुने प्रमुख पौडेलले बताए ।
बिहानैबाट खटिएको टोली लोकेसन अनुसार नै ती बस्तुहरू नियन्त्रण लिँदै गइरहेको थियो । गोदामबाट गइरहेको सामानहरू बाटोमा फेला पारेपछि हामी कपिलवस्तु र रुपन्देही प्रशासनको सहयोगमा गोदाम सम्म पुगेर सामान बरामद गरेको भन्सार प्रमुख पौडेलले भने । सम्भवत बरामद सामान एकै ठाउको यति ठुलो मात्रामा यस क्षेत्रकै पहिलो हो । भैरहवा भन्सार कार्यालयमा आइरहने नियमित सामानहरू नै गोदामबाट बरामद भएको छ ।
अहिले गृहमन्त्री यस क्षेत्रमा केन्द्रित भइरहँदा पनि करोडौको सामान बरामद हुन भनेकै सुरक्षा प्रमुखमाथि नै प्रश्न उठेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करी शून्य छ भनिरहँदा भन्सारले ठुलो मात्रामा यी सामान बरामद हुनु भनेको तस्करी मिलोमतोमा भइरहेको छ भन्ने पुष्टि हुन्छ । सयौँ सुरक्षा जनशक्ति र संयन्त्र हुँदा पनि नसमातिनु भन्सारको गस्ती टोलीले समात्नु भनेकै प्रहरी माथि शंकाको प्रश्न छ ।
FACEBOOK COMMENTS