नेपालको अस्कर समितिले माग्यो चलचित्र
कर्पोरट खबर
12:19 pm, मंगलबार, भदौ १२, २०८०
काठमाडौँ । एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागिताका लागि नेपालस्थित छनोट समितिले आह्वान गरेको छ ।
सन् २०२४ मा अमेरिकास्थित लस एन्जल्समा हुने भनिएको सो अवार्डका लागि नेपालस्थित समितिमा यही भदौ २९ सम्म दर्ता भइसक्नुपर्ने समिति सदस्य सामीप्यराज तिमल्सेनाले जानकारी दिए ।
उनले भने, “प्राप्त चलचित्र हेरेपछि हामीले एउटालाई असोज १ गतेसम्म अस्करमा पठाउँछौँ । कमिटीले तयार गरेको मापदण्डमा नेपालको मौलिकता झल्किने चलचित्रलाई सिफारिस गर्ने गरिएको छ ।”
मापदण्ड अनुसार तोकिएको मितिभित्र चलचित्र प्रदर्शन भएको हुनुपर्ने, केन्द्रीय चलचित्र जाँचसमितिबाट पास भएको हुनुपर्ने, चलचित्र भवनमा कम्तीमा सात दिन प्रदर्शन भएको हुनुपर्ने वा मान्यताप्राप्त ओटिटीमा प्रदर्शन भएको हुनुपर्ने छ । विसं २०७९ असोज १५ गतेदेखि विसं २०८० भदौ २९ अघिसम्म प्रदर्शन भएका चलचित्रहरू प्रतिस्पर्धामा सहभागी हुन् पाउनेछन्।
चलचित्र विकास बोर्ड सदस्य राजु केसीको संयोजकत्वमा पाँच सदस्यीय छनोट समिति गठन गरिएको छ । समितिमा मञ्जुकुमार श्रेष्ठ, गौतम धिमाल, सामीप्यराज तिमल्सेना सदस्य र हृतिका भट्टराई सचिव रहेका छन् ।
FACEBOOK COMMENTS