काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको तत्कालीन उद्धार, राहत तथा दीर्घकालीन पुन:स्थापनाका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक सहयोग प्रदान गरेको छ ।
कम्पनीले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १ करोड (एक करोड रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको हो । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन लगायतका नदी तटीय क्षेत्रमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको दु:खद् घटनाप्रति कम्पनीले गहिरो दु:ख व्यक्त गरेको छ ।
भीषण बाढी र डुबानका कारण सयौँ नागरिकले अकालमै ज्यान गुमाउनुपरेको, कैयौँ बेपत्ता भएको तथा बस्ती र पूर्वाधारहरू नष्ट भई सयौँ परिवार विस्थापित हुनुपरेको कठिन परिस्थितिमा कम्पनीले प्रभावित नागरिकहरूप्रति हार्दिक सहानुभूति व्यक्त गरेको छ ।
विपद्बाट प्रभावित नागरिकहरूको तत्कालीन उद्धार, राहत तथा दीर्घकालीन पुन:स्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय तथा स्थानीय संघ–संस्थाहरूबाट भइरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त आर्थिक सहयोग घोषणा गरेको हो ।
कम्पनीले स्थापनाकालदेखि नै राष्ट्रमा आइपर्ने विभिन्न संकट, प्राकृतिक विपद् तथा महामारीको घडीमा अग्रपंक्तिमा रहेर सहयोग हस्तान्तरण गर्दै आइरहेको छ ।
हालको विषम परिस्थितिमा कम्पनीको तर्फबाट उपलब्ध गराइने रु. १ करोड आर्थिक सहयोगले बाढी प्रभावितहरूको खोज, उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार तथा पुन:स्थापना कार्यमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस दु:खद् घडीमा बाढीमा परी ज्यान गुमाउने नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
साथै, बेपत्ताहरूको शीघ्र खोजी, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा अहोरात्र खटिएका सम्पूर्ण सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायहरूप्रति उच्च सम्मान एवं आभार व्यक्त गरेको छ ।