काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कम्पनी सञ्चाल समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा सोमबार काठमाडौैंको नक्सालस्थित आम्रपाली बैंकेटमा भएको साधारण सभाले २६ दशमलव ३१ प्रतिशत लाभांश पारित गरेको हो ।
आर्थिक वर्ष २०७९/८० का लागि कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश पारित गरिएको कम्पनीले जनाएको छ । कम्पनीको चुक्तापुँजी चार अर्बको रूपैयाँको २५ प्रतिशतले हुन आउने एक अर्ब रूपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ३१५८ प्रतिशतले हुन आउने पाँच करोड २६ लाख ३१ हजार ५७९ रूपैयाँ बराबरको नगद लाभांशसहित कुल २६ दशमलव ३१५८ प्रतिशत लाभांश पारित गरिएको हो ।
बोनस शेयर जारी गरेपश्चात कम्पनीको चुक्ता पूँजी पाँच अर्ब रूपैयाँ कायम हुने छ । यसले कम्पनीको पूँजी संरचना परिवर्तन हुने भएकाले कम्पनीको प्रबन्ध–पत्र तथा नियमावलीमा सोही बमोजिम संशोधन गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । साथै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलार्ई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७९/०८० को एनएफआरएस बमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचीसहितको वित्तीय विवरण उपर छलफल गरी सर्वसम्मतिबाट पारित गरेको छ ।
यसैगरी आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम एसएआर एसोसिएट्सलाई बाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक समेत साधारण सभाले तोकेको छ ।
सभामा सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको पदमा रबिन कुमार नेपाल निर्विरोध निर्वाचित भएका छन् । सभाले सञ्चालक समितिको बैठकमा उपस्थित भएबापत सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा पुनरवलोकनको प्रस्ताव समेत पारित गरेको छ ।
कम्पनीको मिति २०८०/०९/०४ गते बसेको सञ्चालक समितिको १८०औं बैठकले सञ्चालक समितिमा रिक्त रहेको संस्थापक शेयरधनी समूहमा बाँकी कार्यकालका लागि संस्थापक शेयरधनीहरूबाट सञ्चालकहरूको नियुक्ति गरेकोमा सो नियुक्ति अनुमोदन गरेको छ । सभाले कम्पनी ऐन, २०६३ को दफा १०५(१) (ग) बमोजिम कम्पनीको आर्थिक वर्ष २०७९÷०८० मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरू अनुमोदन गरेको छ ।
उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुयाँलले कम्पनीको प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, मानव संसाधनको विकास एवम् ग्राहक सेवाप्रति निरन्तर प्रतिबद्ध रहने बताए ।
सभाको अन्त्यमा सभाका अध्यक्षले कम्पनीकोे उन्नति र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग गर्ने शेयरधनी महानुभावहरू, नियामक निकायहरू, समस्त बीमितहरू, बैंक तथा वित्तीय संस्थाहरू, पुनर्बीमा कम्पनीहरू, कर्मचारीहरू, अभिकर्ताहरू तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति कृतज्ञता ज्ञापन गरे ।
FACEBOOK COMMENTS