काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा कम्पनीका अध्यक्ष रामहरि अर्यालको अध्यक्षतामा लैनचौर बैंक्वेट्स, लैनचौर काठमाडौंमा सम्पन्न भएको हो।
सभाले कम्पनीको पुँजी संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरेको छ।
यसका साथै सभामार्फत् सर्वसाधारणलाई छुट्याइएको सेयर (आइपीओ) जारी गर्ने कार्यको सम्बन्धमा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावसमेत पारित भएको छ।
साथै संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै पनि फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने प्रस्तावसमेत सोही सभाले पारित गरेको छ। यसका अलावा कम्पनीको संचालक समितिमा स्वतन्त्र संचालक नियुक्त गर्ने प्रस्तावसमेत पारित भएको छ।
साथै गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ।
त्यस्तै, चालू आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने समेत प्रस्तावलाई अनुमोदन गरेको छ।
FACEBOOK COMMENTS