काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको कसिलो मौद्रिक नीतिका कारण ब्याजदर बढेको भन्दै निजीक्षेत्रबाट चौतर्फी विरोध भइरहेका बेला अन्तरर्राष्ट्रिय मुद्रा कोषले भने उक्त नीतिको प्रशंसा गरेको छ ।
फेब्रुअरी १५ देखि २८ सम्म काठमाडौं भ्रमण गरेको जाक्र्को तुरुनेन नेतृत्वको आर्टिकल फोर मिसनले यस्तो निष्कर्ष निकालेको हो । मिसनको निष्कर्षअनुसार कसिलो मौद्रिक नीतिले नेपालको बाह्य क्षेत्रमा स्थिरता ल्याउन सहयोग गर्नुका साथै मूल्य वृद्धिदर घटाउन योगदान गरेको छ ।
मिसनले दिगो मध्यकालीन विकासका लागि आर्थिक सुधारहरूको आवश्यकतामा पनि जोड दिएको छ । टोलीले नेपालले बैंकिङ नियम र सुपरिवेक्षणमा सुधार अगाडि बढाउनुपर्ने, व्यवसायको लागत घटाउनुपर्ने, वैदेशिक लगानीका अवरोधहरू हटाउनुपर्ने र सुशासनलाई बढावा दिनुपर्ने सुझाव दिएको छ ।
मिसनले चालू आर्थिक वर्षमा ४ दशमलव ४ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण पनि गरेको छ । पर्यटन क्षेत्रमा आएको सुधार, तुलनात्मक रूपमा बलियो कृषि क्षेत्र र विप्रेषण आप्रवाहको उत्थानशीलताले चालू आर्थिक वर्षको आर्थिक वृद्धिमा टेवा पुग्ने मिसनको भनाइ छ ।
मिसनले नियमित रूपमा गर्ने नेपालको अर्थतन्त्रको मूल्यांकनबाहेक यस वर्ष कोषले प्रदान गरेको ऋणका शर्तहरू पालनाको समीक्षा पनि गरेको छ । मिसनले नेपालले अन्तरराष्ट्रिय मुद्रा कोषबाट एक्स्टेन्डेड क्रेडिट फ्यासिलिटीअन्तर्गत प्राप्त गरेको ५२ मिलियन अमेरिकी डलर ऋण सहायताअन्तर्गतको पहिलो र दोस्रो समीक्षा गरेको हो । मिसनको प्रतिवेदन कोषको बोर्डले स्वीकृत गरेपछि नेपालले उक्त ऋण रकमको अर्को किस्ता प्राप्त गर्ने बाटो खुल्ने आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS