काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खोटाङले २०७७ साल फागुन २१ गते नेपाल सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको माग गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी खोटाङका सेक्रेटरी सञ्जिव लुंगेली मगरले बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै ‘नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिवन्ध हटाउने, कारागारमा रहेका नेता तथा कार्यकर्ताको रिहाई र सम्पूर्ण मुद्धाहरु खारेज गर्ने’ सहमति कार्यान्वयनको माग गरेका छन् ।
सरकारले सहमति कार्यान्वयन गर्नुको सट्टा उल्टै महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य विषम लगायतका नेता कार्यकर्तालाई गत १६ साउनमा ललितपुर जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरेको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।
उक्त पक्राउ पुर्जी नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी बीच भएको सहमतिको विरुद्धमा भएको र मुलुकलाई जवरजस्त द्धन्द्धमा धकेल्ने नियोजित मनसायमा आधारित रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
‘सहमति अनुसार हालसम्म पनि जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरिएको छैन । झुट्टा मुद्धा खारेज गरिएको छैन,’ सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘उल्टै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य विषम लगाउतका नेता कार्यकर्तालाई गत १६ साउनमा ललितपुर जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरिएको छ ।’
नेपाल कम्युनिष्ट पार्टीले सरकार समक्ष भ्रष्टाचार र असीमित रुपमा बढिरहेको मूल्यवृद्धि नियन्त्रणको माग गरेको छ । ‘देश चरम मूल्यावृद्धि र भ्रष्टाचारको दलदलमा फसेको छ । चौतर्फी क्षेत्रमा व्याप्त भ्रष्टाचारले गर्दा देश कंगालीकरण तर्फ धकेलिएको छ । चर्को मूल्यवृद्धिका कारणले जनताको जीवन कष्टकर बन्दै गएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘अतः तत्काल भ्रष्टाचार रोक्ने र असीमित रुपमा बढिरहेको मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दछ ।’
ज्ञापनपत्रमा नेपालको सामरिक महत्वको भूगोलमाथि आफ्नो हस्तक्षेप कायम गरेर राजनीतिक तथा सैन्य अतिक्रमणलाई मजबुत बनाउने उद्धेश्यमा आधारित एमसिसि सम्झौता र एसपिपि परियोजना खारेज गर्न माग गरेको छ । यस्तै, विगतमा भएका राष्ट्रहित विपरितका असमान सन्धि तथा सम्झौता खारेज गर्न माग गरिएको छ ।
FACEBOOK COMMENTS