काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिना अर्थात पुस महिनासम्ममा मुलुकको व्यापार घाटा झण्डै ७ खर्ब रुपैयाँ पुगेकोे छ ।
भन्सार विभागका अनुसार यस अवधिमा नेपालले ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको हो । यो व्यापार घाटा गत आवको सोहि अवधिको भन्दा २.६२ प्रतिशतले कम हो ।
विभागका अनुसार गत वर्षको सोहि अवधिमा नेपालले ७ खर्ब ११ अर्ब ८५ करोड ८८ लाख ६८ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो।
विभागका अनुसार ६ महिनाको अवधिमा ८ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा ८ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाख १० हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । यस अवधिमा वैदेशिक व्यापारमा समेत ३.४७ प्रतिशतको गिरावट आएको छ ।
वैदेशिक व्यपारमा गिरावट आउँदा व्यापार घाटा केहि घटेको छ । आर्थिक गतिविधि बढ्न नसक्दा आयात तथा निर्यात दुवै घटेका छन । पुस महिनासम्ममा आयात निर्यात दुबै घटेकाले कुल व्यापार तथा व्यापार घाटामा समेत गिरावट आएको हो । यस अवधिमा आयात ३.०९ प्रतिशतले घटेको छ भने निर्यात ७.२३ प्रतिशतले घटेको छ ।
भन्सार विभागका अनुसार पुस महिनासम्ममा ७४ अर्ब ९६ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । गएको वर्षको सोहि अवधिमा ७१ अर्ब १८ करोड ५८ लाख रुपैयाँको वस्तु र सेवा निर्यात गरिएको थियो ।
त्यस्तै, यस अवधिमा नेपालले ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । गत वर्षको यही अवधिमा ७ खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।
चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा वैदेशिक व्यापार घटेपनि भन्सार बिन्दुबाट हुने राजस्व संकलन भने बढेको छ । ६ महिनामा भन्सार राजस्वबाट २ खर्ब १० करोड रुपैयाँ उठेको छ । यो गत आवको यसै अवधिको तुलनामा ६.३४ प्रतिशत धेरै हो । गत आवमा सरकारले १ खर्ब ८८ अर्ब १७ करोड बराबर राजस्व उठाएको थियो ।
राजस्व बढे पनि यो वृद्धि अनुमानको तुलनामा भने धेरै कम रहेको विभागले जनाएको छ ।
FACEBOOK COMMENTS