काठमाडाैँ । चालु आर्थिक वर्षको ३ महिनामै २ हजार ५ सय बढी इलेक्ट्रिक कार (जीप, कार, भ्यान) नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यातको विवरण अनुसार २ हजार ५२० युनिट विद्युतीय सवारीसाधन आयात भएका हुन् ।
भन्सार विभागका अनुसार असोज मसान्तसम्म ६ अर्ब १२ करोड ४३ लाख ८३ हजार रुपैयाँ बराबरका २ हजार ५२० युनिट ईभी आयात भएका छन् । असोज एक महिनामा मात्रै ९१८ युनिट ईभी आयात भएका छन् । भदौमा १ हजार २२१ र साउनमा ३८१ युनिट ईभी आयात भएका थिए ।
भन्सार विभागका अनुसार तीन महिनामा ५० किलोवाट सम्मका ७७२ युनिट ईभी भित्रिएका छन् । सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका १ हजार ५८२ युनिट ईभी आयात भएका छन् । १०१ देखि २०० किलोवाट सम्मका १५९ युनिट र २०१ देखि ३०० किलोवाट क्षमताका ७ युनिट विद्युतीय गाडी आयात भएका छन् ।
नेपालमा सबैभन्दा धेरै ईभी चीनबाट आयात भएको छ । ३ महिनामा चीनबाट मात्रै १ हजार ७६७ युनिट ईभी नेपाल आउँदा भारतबाट ७४७ वटा र जर्मनीबाट ५ वटा ईभी आएका छन् । अमेरिकाबाट एक थान ईभी आएको छ । ईभी आयातबाट सरकारले ३ महिनामा ३ अर्ब ७५ करोड ४३ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ । असोज महिनामा मात्रै १ अर्ब ४४ करोड २१ लाख १२ हजार राजश्व संकलन भएको विभागले जनाएको छ ।भदौमा १ अर्ब ७९ करोड ३ लाख ७७ हजार र साउनमा ४२ करोड १८ लाख २७ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।
FACEBOOK COMMENTS