काठमाडाैं । कार्तिक महिनामा मात्रै नेपालले १ खर्ब १८ अर्ब ७३ करोड ८९ लाख ५६ हजार व्यापार घाटा व्यहोरेको छ। यो अवधिमा १ खर्ब ३१ अर्ब ६९ करोड ३० लाख ८० हजारको सामान आयात हुँदा १२ अर्ब ९५ करोड ४१ लाख २४ हजार रुपैयाँ बराबरको निर्यात भएको छ।
यो सँगै,चालु आर्थिक वर्षको ४ महिनाको अवधि अर्थात् साउनदेखि कार्तिकसम्ममा नेपालको हालको व्यापार घाटा कुल ४ खर्ब ७७ अर्ब ९१ करोड ७० लाख ६५ हजार पुगेको छ। यद्यपी यो व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले कम हो। गत वर्षको कार्तिकसम्म आइपुग्दा व्यापार घाटा ५ खर्ब ६८ अर्ब १७ करोड बढी रहेको थियो।
भन्सार विभागका अनुसार कार्तिक सम्म आउँदा आयातमा पनि १८ प्रतिशतको गिरावट आएको छ।
गत वर्षको कार्तिकसम्म साढे ६ खर्ब बढीको आयात भएकोमा यो वर्षको समिक्षा अवधिमा मात्रै ५ खर्ब साढे ३२ अर्ब बढीको आयात भएको छ।
आयातसँग निर्यातमा पनि गिरावट आएको विभागले जनाएको छ। यो अवधिसम्म आउँदा गत वर्षको तुलनामा निर्यातमा ३३ प्रतिशतको संकुचन आएको छ। कार्तिकसम्म ५४ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ। गत वर्षको समिक्षा अवधिमा यस्तो निर्यात रकम ८२ अर्ब १२ करोड ४२ लाख बराबर भएको थियो।
