काठमाडौं । गएको आर्थिक वर्ष (आव) २०७७-७८ मा अन्य व्यवसायमा नकारात्मक प्रभाव परे पनि अटोमोबाइलको व्यापार भने बढेको देखिएको छ । अटोमोबाइलभित्रै सार्वजनिक बससहित अन्य केही सेग्मेन्टको व्यापार खस्किए तापनि समग्र रूपमा भने अटोमोबाइलको बजार फस्टाएको देखिएको हो ।
यस आर्थिक वर्षमा दुईपांग्रे र चारपांग्रे गरी निजी प्रयोजनको यातायातका लागि प्रयोगमा आउने सवारीको आयात ७० प्रतिशतले बढेको छ । जीप, कार, भ्यान र मोटरसाइकल तथा स्कुटरको आयातको तथ्यांक हेर्दा आव २०७६–७७ मा २ लाख ९ हजार ९ मात्रै रहेकोमा गएको आवमा उक्त संख्या बढेर ३ लाख ५५ हजार १८ पुगेको देखिन्छ ।
नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अनुसार गएको वर्ष निजी प्रयोजनका जीप, कार, भ्यानको आयात आव २०७६र७७ मा १० हजार ९७२ रहेकोमा गएको आवमा उक्त आयात बढेर १४ हजार ८४७ मा पुगेको छ ।
यसैगरी दुईपांग्रेको हकमा ३ लाख ५५ हजार ८६७ मोटरसाइकल तथा स्कुटरको आयात भएको छ । यसको आयात अघिल्लो वर्ष १ लाख ९८ हजार ६२ मात्रै रहेको थियो ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले कोभिडपछि निजी सवारीको माग बढेको बताए । अघिल्लो वर्ष माघदेखि वैशाखसम्म मागअनुसार पूर्तिसम्म गर्न नसकिएकाले अग्रिम बुकिङ गरिएकोमा अन्य महीनामा पनि विक्री सामान्य बढेको देखिएको उनले बताए ।
‘कोभिडपछि स्वास्थ्य सतर्कताका लागि भए पनि निजी सवारीप्रति आकर्षण बढेको देखिएको छ । यसले अटोमोबाइल अत्यावश्यक हो न कि विलासिताको साधन हो भन्ने प्रमाणित भएको छ,’ उनले भने, ‘कोभिड महामारीका कारण शोरूमसम्मै पुग्नेको संख्या थोरै भएपनि विस्तारै सोधपुछ गर्नेको संख्या बढ्दै गएको छ र सकारात्मक संकेत नै देखिएको छ ।’
गएको वर्ष निजी सवारीको विक्री बढेको देखिए पनि सार्वजनिक सवारीको माग भने ठप्पै देखिएको छ । उक्त वर्ष जम्मा २ सय ७९ ओटा मात्रै बस आयात भएका छन्, जबकि यो संख्या अघिल्लो वर्ष २ हजार ८३ रहेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS