काठमाडौँ । हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरूप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोन वार्ता गरेकी छन् ।
हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री डा राणाले गएराति इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गरेकी हुन् ।
त्यस अवसरमा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरूसँग अब हुने बैठकमा आफूले जोशीको रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएका परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ । इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले मुक्त गर्न थालेको छ ।
हमासको नियन्त्रणबाट जोशीलाई मुक्त गर्न सरकारले कूटनीतिक पहल जारी राखेको छ । यसक्रममा मन्त्री डा देउवाले अघिल्लो साता इजिप्टका विदेशमन्त्रीसँग पनि टेलिफोन वार्ता गरी जोशीको मुक्तिका निम्ति सहयोग गर्न आग्रह गरेकी थिइन् ।
इजरायल सरकार र हमासबीच युद्धविरामको प्रयास भएदेखि नै मन्त्री डा देउवाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग जोशीको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिरहेकी छन् ।
केही साताअघि मन्त्री डा देउवाले इजरायलका विदेशमन्त्रीसँग पनि यसै विषयमा टेलिफोन वार्ता गरेकी थिइन् । त्यसैगरी इजरायलका लागि नेपाली राजदूत प्राडा धनप्रसाद पण्डितले पनि केही दिनअघि इजरायलका राष्ट्रपतिसँग फोनमा जोशीको मुक्तिका निम्ति आग्रह गरेकी थिइन् ।
जोशीको रिहाइका लागि सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरू र बैठकमार्फत जोशीको रिहाइका लागि कूटनीतिक प्रयास गरिरहेकी छन् ।
FACEBOOK COMMENTS