काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार साँझ पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री शर्माले आजै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको अभियोग लागेपछि उनले गत असार २२ गते प्रतिनिधिसभामा सम्बोधन गर्दै राजीनामा दिएका थिए । आज मात्रै नेकपा (माओवादी केन्द्र)का तर्फबाट अर्थमन्त्रीमा शर्मालाई नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस गरेको थियो । सोही आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।
पदभार ग्रहणपछि आयोजित कार्यक्रममा उनले विश्वव्यापी रुपमा अर्थतन्त्रमा समस्या देखिएको र त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको भन्दै आन्तरिक रुपमा सबलीकरण गर्न लागिपर्ने बताए । उनले भने, “हाम्रो अर्थतन्त्रको सबलीकरण गर्न लागिपर्छु ।” मन्त्री शर्माले त्यसका लागि आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने गरी काम गर्नुपर्ने बताए।
उनले भने, “हाम्रो अर्थमन्त्र सबलीकरण गर्नुपर्छ । त्यसका लागि आयात प्रतिस्थापन, निर्यात वृद्धि तथा विदेशी मुद्राको सञ्चिति बढाउनुपर्छ ।” उनले गत आवको बजेट कार्यान्वयनमा देखापरेका कमी कमजोरीलाई समीक्षा गर्दै चालु आवको बजेट कार्यान्वयनमा लागिपर्ने बताए ।
उनले बजेट कार्यान्वयनका लागि कर्मचारीतन्त्रले सबैले सहयोग गर्नेमा आफू विश्वस्त रहेको समेत उल्लेख गरे । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दरमा हेरफेर गरेको आरोप लागे पनि नैतिकता देखाउँदै उनले राजीनामा गरेका थिए । उनले आफू छानबिनका लागि तयार रहेको बताए थिए । प्रतिनिधिसभाले गठन गरेको समितिले उनलाई शुक्रबार निर्दोष रहेको बताएको थियो ।
पदभार ग्रहणपछि अर्थमन्त्री शर्माले निक्षेप बीमाको सीमा बढाउने निर्णय गरेका थिए । चालु आवको बजेटमा रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघुबीमा सहयोग कार्यक्रमको दायरा विस्तार गरिन लागेको हो । नयाँ व्यवस्थाअनुसार अब निक्षेप बीमाको विद्यमान सीमा रु तीन लाखबाट बढेर पाँच लाख बराबर हुनेछ ।
FACEBOOK COMMENTS