काठमाडौँ । काठमाडौँको मरुस्थित शाक्यकेतु महाविहारको पुननिर्माणमा सम्पन्न भएको छ । पुननिर्मित महाविहारको काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभएको छ ।
२०७२ सालको भूकम्पले जीर्ण भएको महाविहार पुननिर्माणका लागि प्रमुख शाक्यले २०७६ माघमा शिलान्यास गर्नुभएको थियो । करीब ४६ लाख ६९ हजार रुपैयाँमा महाविहारको पुननिर्माण सम्पन्न भएसँगै आँगन घर ‘आग छेँ’ पुननिर्माणका लागि क्षमा पूजा गरियो ।
कार्यक्रममा प्रमुख शाक्यले गुठी संस्थानले व्यापारिक प्रयोजनका लागि जग्गा दिएको तर महानगरले भाडामा लिएर पार्क तथा खुल्ला स्थान बनाउन खोज्दा नदिएकोप्रति टिप्पणी गर्दै भन्नुभयो, जग्गाको भाडा महानगरले तिर्ने गरी खाली जमिन मागेका थियौँ । व्यक्तिले व्यापारिक प्रयोजनमा ल्याउँदा उहाँहरुलाई केही समस्या छैन तर महानगरलाई दिन चाहनुहुन्न । जग्गामात्र होइन, गुठीको स्वामित्वमा भएका धेरै सांस्कृतिक संरचनाहरु जीर्ण छन् । उहाँहरु हामीलाई संरक्षण गर्न पनि दिनुहुन्न । तपाईँहरु आफैँ संरक्षण गर्नोस्, अलपत्र नछाड्नोस् भन्दा पैसा पनि छैन र कार्यक्रम पनि छैन भन्नुहुुन्छ ।’
गुठी संस्थानसँगै पुरातत्व विभागले पनि यसै गर्छ । शाक्यले प्राचीन स्मारक संरक्षणको कुरा जोड्दै भन्नुभयो, ‘संरचना भत्किएर जाँदै छन् । सुन्दर हुनुपर्ने संरचना कुरुप बन्दैछन् । यी सबै उहाँहरुलाई मञ्जुर छ । यस्ता सांस्कृतिक संरचनाको संरक्षणमा हामी लगानी गछौँ भन्दा उहाँहरुलाई मञ्जुर हुँदैन ।’
त्यस क्रममा उहाँले स्वामित्व वा उपयोगमा विवाद नभएका सांस्कृतिक भौतिक संरचना जोगाउन महानगरले पर्याप्त लगानी गर्ने, संरक्षित संरचनाको उपभोग समुदायलाई दिने र यस्ता संरचनासँग पर्यटकीय सम्बन्ध जोड्ने नीतिअनुरुप काम भइरहेको बताउनुभयो ।

शाक्यहरुका १६ वटा प्रमुख वहिलमध्येको यो एक हो । यस महाविहारमा गणबहिल ‘गणवहाल, खिचापोखरी र ओमवहालकोविच’, खुशीबहिल ९ताहाचाल० का शाक्य र भिक्षुहरुको चुडा कर्म गरिन्छ ।
