काठमाडौँ । दसैँको दिन अपराह्नपछि मौसम परिवर्तन भई अविरल वर्षा सुरु भएको थियो । तीन दिनदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण ग्रामीण सडक अवरुद्ध छन् । जनजीवन कष्टकर भएको छ ।
डडेल्धुराको भित्रीमधेस क्षेत्र आलितालमा बाढी पहिराको त्रास छ भने पहाडी भेगमा पहिराको । गत वर्ष पनि असोज कात्तिकमा भएको झरीले ठूलो नोक्सान बेहोर्नु परेको डडेल्धुरावासी यसपटक पनि निरन्तर भइरहेको वर्षाले पिरोलोमा छन् ।
गत वर्षको बाढीपहिरोबाट पीडित परिवार अहिले पनि अर्काको घरमा साहारा लिइ बसेका छन् । पहिराका कारण घरखेत गुमाउनुपरेको अजयमेरु–१ मुद्राडका केशव पार्की अहिले पनि आफन्तको घरमा बस्दै आएका छन् । मुक्त हलिया भएका कारण सरकारद्वारा निर्माण गरिएको केशव पार्कीको घर गत वर्षको पहिरोले पूर्णक्षति पारेको थियो । उनी परिवारसहित आफन्तको जीर्ण घरमा बस्दै आएका छन् ।
त्यसैगरी अमगढी–१ भेटाका पहिरोपीडित पनि पुरानै ठाउँमा बसिरहेका छन् । वर्षा एकनाश भइरहेको छ । जोेखिम उत्तिकै रहेकाले सतर्कताका साथ गाउँलेलाई सुरक्षित रहन आग्रह गरिएको वडाध्यक्ष लोकबहादुर ऐरले बताए । भेटामा मात्रै करिब तीन दर्जन परिवारले बसोबास स्थानान्तरणका लागि सरकारसँग माग गरी रहेका छन् ।
त्यसैगरी गन्यापधुरा–१ रुवाखोला क्षेत्रमा पनि गत वर्षको पानीले ठूलो धनजनको क्षति पुर्याएको थियो । अहिले पनि उनीहरु त्रसित छन् । सरकारले त्यस क्षेत्रलाई पहिरोपीडित क्षेत्रका रुपमासमेत घोषणा गरेको थियो ।
त्यसैगरी पर्शुराम नगरपालिका क्षेत्रमा पर्ने महाकाली, रङ्गुन, पन्तुरा र शीर्ष नदीले बर्सेनि दर्जन गाउँ कटान गर्दै आएको छ । गएको साता परेको वर्षाले मात्रै रङ्गु नदीमा लगाएको तटबन्द भत्काएर बाढीले गाउँ र खेतमा क्षति पु¥याएको थियो । जसका कारण मानवीय क्षति नभए पनि पशुचौपाया र खेतपाती नष्ट भएकोे नगरप्रमुख भरत बढाऐर जोशीले बताए।
उनको सक्रियतामा फुटेको ठाउँमा पुनः तटबन्ध लगाएको तर अहिले पनि जोखिम त्यसै रहेको प्रमुखको भनाइ छ । निरन्तरको वर्षाले मानव जीवन दैनिक कष्टकर भइरहेको छ । डडेल्धुरा जिल्लाकै सबैभन्दा बढी विपद् हुने क्षेत्रमा पर्ने पर्शुराम नगरपालिका क्षेत्रका एक दर्जन गाउँ महाकाली, रङ्गुन र शीर्ष नदीको जोखिममा छन् ।
पर्शुराम नगरपालिका सरकुणा, सिसमजला, कुणा, कराली, भुरकुण्डा, तातोपानी, चन्दनी, सिमलखेत, कटाल, परिगाउँ र बासगैरा तथा आलिताल गाउँपालिकाका गोदाम, घुमती, स्यालचौडी रङ्गुन नदीमा आउने बाढीको जोखिममा छन् भने बलौचा, ओवा, खैरेनीलगायत गाउँ पहिरोको जोखिममा परेका छन् । बलौचा गाउँका ४० परिवार पहिरोको जोखिमलाई हेरी सुरक्षित स्थानमा अस्थायी बसोबास बनाइ सारिएका छन् ।
FACEBOOK COMMENTS