काठमाडौं । धनगढी उपमहानगरपालिकाकी अनिता खडायतलाई सहकारीको बचत सङ्कलन गर्न घरबाट निस्किन सधैँ हतारो हुन्छ । बचत सङ्कलनमा हिँड्नुपर्ने उनको दैनिकी हो ।
दैनिक तीनसयभन्दा बढी बचतकर्ताको रकम असुल्नु गर्दा हुने दौडधुपले उनलाई कामको बढी चाप हुन्छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था कैलालीमा कार्यरत उनले भने “तोकिएको ठाउँठाउँमा पुगेर बचत सङ्कलन गर्नुपर्छ, न्यूनतम पारिश्रमिकका अलावा बचत सङ्कलन गरेबापत कमिसन पनि पाउँछौँ ।” धनगढीकै तारा चौधरीले पनि बचतकर्ताको घरसम्मै पुगेर बचत सङ्कलन गरिरहेकि हन्छिन् । सुदूरपश्चिमाञ्चल बहुउद्देश्यीय सहकारी संस्थासँग जोडिनु भएकी उनले भनिन्, “बचत सङ्कलनको काममा आफू सहित नौ महिलाले काम पाएका छौँ, आफ्नो कामबाट सन्तुष्ट छौँ ।” गाउँ टोलमा धमाधम खुलिरहेका सहकारी संस्थाले गरिरहेको बचत सङ्कलनमा धेरै युवती र महिला जोडिएर काम गर्न पाउँदा रोजगार र स्वरोजगारका अवसर सिर्जना भइरहेको छ । प्रायः सबै सहकारीले बचत सङ्कलनको जिम्मेवारी महिलालाई दिने गरेको देखिन्छ । “काममा लगनशील र इमान्दार हुन्छन् भन्ने बुझाइले बचत सङ्कलनको जिम्मेवारी महिलालाई दिएको हुनसक्छ”, अनिताले थपिन, “यस्तो कामको जिम्मेवारी पाउँदा धेरै महिलाले रोजगारी पनि पाइरहेका छन् ।”
बचत सङ्कलन गर्ने महिलाले सम्बन्धित सहकारी संस्थाबाट न्यूनतम पारिश्रमिकका अलावा सङ्कलित रकमबाट तोकिएको ‘कमिसन’ समेत पाउने गरेका छन् । बचत सङ्कलन गरी बिना कुनै झण्झट सहकारीका सदस्यमा ऋण लगानी गरिरहेका सहकारी संस्थाको गतिविधिबाट प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगार र स्वरोजगारका अवसर सिर्जना भइरहेको सहकारी आन्दोलनका अगुवाको अनुभव छ । महिला समूहमा मानोमुठी सङ्कलन गरेर १९ वर्ष अघि स्थापना गरिएको कैलालीको गोदावरी नगरपालिकाको जमुनानगरस्थित सिर्जनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा तीन हजारभन्दा बढी महिला शेयर सदस्य पुगेका छन् । महिला शेयर सदस्यले गरिरहेको आयमूलक व्यवसायबाट आयआर्जन गर्न उनीहरू सफल छन् । संस्थाका अध्यक्ष भावना खड्काले भनिन् , “सहकारीकै गतिविधिको कारण धेरै महिलाको नेतृत्व क्षमताको विकास भएको छ, आयआर्जन गर्न पनि आफैँ सक्षम भइरहेका छन् ।”
महिलामात्र सदस्य रहेको उक्त संस्थाले दश जना महिलालाई रोजगारी दिएको छ । कृषि, व्यापार व्यवसायलगायतका क्षेत्रमा ऋण प्रवाह गरिरहेको संस्थाले कारोबारको आधारमा राष्ट्रिय सहकारी बैंकबाट हालै उत्कृष्ट सहकारीको रुपमा पुरस्कार पाएको छ । महिलाले नेतृत्व गरेको सहकारीका गतिविधि तुलनात्मक रुपमा बढी सफल भइरहेको धेरैको अनुभव छ । उक्त संस्थाकी संस्थापक गौरी चौधरीले महिला काममा लगनशील र मेहनती हँुदा सफलता मिलेको अनुभव सुनाउनुछिन् ।
“पहिले श्रीमान्सँग पैसाका लागि हात थाप्नुपथ्र्यो, अहिले श्रीमतीसँग श्रीमान्ले, यो सफलता सहकारीमै लागेर भएको हो”, उनले भनिन् “तत्कालीन समयमा महिला विकास शाखाले गाउँ गाउँमा महिला हकहितका लागि गरेको गतिविधिसँगै महिलामा सहकारी सहकारी संस्था खोल्ने प्रेरणा जागेको हो ।” उक्त संस्थामा अहिलेसम्म शेयर पुँजी दुई करोड ६६ लाख २५ हजार रुपैयाँ पुगेको छ । लगानीमा रहिरहेको रकम १९ करोड २५ लाख ३८ हजार रुपैयाँ पुगेको छ । सदस्यको बचत रकम १२ करोड ७२ लाख तीन हजार रुपैयाँ छ । सहकारीका सदस्यले व्यावसायिकरुपमा कृषितर्फ तरकारी खेती, बङ्गुर, बाख्रा, भैँसीपालनका साथै खुद्रा व्यापार व्यवसाय, ब्युटीपार्लर, सिलाइकटाइका काम गरिरहेका छन् । पहिले निरक्षर भएका महिला सहकारी संस्थाले गरेका गतिविधिसँगै अहिले साक्षर बनेर समाजको नेतृत्वदायी भूमिकामा पुगेको चौधरीको अनुभव छ । दुई दशक अघिसम्म १४÷१५ सहकारी संस्था रहेको कैलालीमा हाल छ सयभन्दा बढी पुगेको तथ्याङ्क छ ।
बैंक तथा वित्तीय संस्थावाट खोजेको बेला सहजरुपमा ऋण लगायतको वित्तीय सुविधा प्राप्त गर्न कठिनाइ हुने गरेकोे परिप्रेक्ष्यमा सर्वसाधारण विस्तारै सहकारीतर्फ आकर्षित हुन थालेको बताइएको छ । संस्थामा सङ्गठित भई आफँैले जम्मा गरेको बचत रकमबाट वार्षिकरुपमा ब्याज रकम पाउने व्यवसाय गर्न सहजरुपमा ऋण प्राप्त हुने र शेयर खरिद गरेबापत लाभांश वितरण हुने गरेको छ । खासगरी बैंक तथा वित्तीय संस्थाको सहज पहंँचबाट टाढा रहेका ग्रामीण क्षेत्रका विपन्न एवं गरिव समुदायका व्यक्ति सहकारी संस्थाबाट बढी लाभान्वित भइरहेको देखिएको छ ।
सहकारीको गतिविधिबाट सदस्यले आयआर्जन गरेको देखिएपछि सर्वसाधारण किसान मात्र नभई विस्तारै राजनीतिक नेता कार्यकर्ता पनि सहकारी संस्थामा आकर्षित हुन थालेको पाइन्छ । नवजीवन सहकारी संस्था लिमिटेड धनगढीका महाप्रबन्धक डम्मरसिंह गुरु ‘एकका लागि सबै, सबैका लागि एक’ भन्ने सहकारीको सिद्धान्तबमोजिम यसमा जनताको अपनत्व र अधिकार समान हुने भएकाले सहकारीप्रति आकर्षण बढेको बताउछन् । “यसले रोजगारीको सिर्जना सँगसँगै गाउँगाउँमा नागरिकमा वित्तीय साक्षरता बढाएको छ”, उनले थपे , “देशको अर्थतन्त्रमाथि उठाउनमा योगदान दिइरहेको सहकारी आन्दोलनलाई निरन्तर नियमन र अनुगमन गर्न भने जरुरी छ ।”
केही ठाउँमा आफैँ संस्थापक, आफैँ सञ्चालक र आफैँ पैसा उठाएर लगानी गर्ने प्रवृत्ति देखिँदा कतिपय सहकारी संस्थामा समस्या उत्पन्न हुने गरेको बताइन्छ । पछिल्ला वर्षमा बैंक तथा वित्तीय संस्था ‘मर्जर’ गर्ने क्रम चलिरहँदा सरकारी संस्थाको सङ्ख्या बढाउनुभन्दा एक आपसमा गाभेर ९मर्जर० गुणस्तर बढाउन सके सहकारी अन्दोलन थप मजबुत हुनसक्ने सहकारीका अगुवाको भनाइ छ । देशभर खुलेका झण्डै २९ हजार सहकारी संस्थामा झण्डै ६८ लाख शेयर सदस्य रहेको अनुमान छ ।
FACEBOOK COMMENTS