एजेन्सी । भारतको छत्तीसगढ राज्यमा आइतबार नक्सलवादी र प्रहरीबीच भएको मुठभेडमा कम्तीमा चार जना नक्सलवादीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
छत्तीसगढको राजधानी सहर रायपुरबाट करिब १९२ किलोमिटर दक्षिणमा रहेको नारायणपुर जिल्लाको अबुझमढ जङ्गल क्षेत्रमा नक्सल र प्रहरीको संयुक्त टोलीबीच मुठभेड भएको हो । प्रहरीका अनुसार नक्सलहरुको उपस्थिति रहेको आशङ्कामा विशेष गुप्तचर सूचनाका आधारमा प्रहरी इकाइहरुको संयुक्त टोलीले उक्त क्षेत्र घेराबन्दी गरेको थियो ।
“आज अबुझमरह जङ्गल क्षेत्रमा नक्सल र प्रहरी बल बीच मुठभेड भयो । मुठभेड मा अहिलेसम्म चार नक्सली मारिएका छन्,” एक प्रहरी अधिकारीले बताए । छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले मारिएका प्रहरी जवानका परिवारप्रति समवेदना प्रकट गरे ।
“सुरक्षा बलहरू नक्सलवाद विरुद्ध बलियो रूपमा लडिरहेका छन् र यो लडाई नक्सलवादको अन्त्य सम्म जारी रहनेछ,”साईले एक विज्ञप्तिमार्फत जानकारी दिए । प्रहरीले मुठभेड स्थलबाट दुई थान एसल्ट राइफल सहित केही स्वचालित हतियार र केही गोलाबारुद समेत बरामद गरेको दाबी गरेको छ ।
पछिल्लो समाचार नआएसम्म उक्त क्षेत्रमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । हाल भारतको मध्य र पूर्वी भागहरूमा नक्सलहरू सक्रिय छन् । नयाँ दिल्लीले आफ्ना अर्धसैनिक बललाई नक्सलवादीहरूसँग लड्न खटाएको छ । विद्रोहले हजारौं बासिन्दाहरूलाई घरबारविहीन बनाउनुको साथै सयौंको ज्यान लिएको छ ।
FACEBOOK COMMENTS