काठमाडाैं । अमेरिकाले पाकिस्तानस्थित आतंकी समूह लश्कर-ए-तैयबासँग सम्बन्धित ‘द रेजिस्टेन्स फ्रन्ट’ (टीआरएफ) लाई विदेशी आतंकवादी संगठनको रूपमा घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै टीआरएफ लश्कर-ए-तैयबाको मोर्चा भएको उल्लेख गर्दै उक्त समूहलाई “Foreign Terrorist Organization (FTO)” को सूचीमा राखेको जानकारी दिएको हो।
विज्ञप्तिमा भनिएको छ, “टीआरएफले भारतको जम्मु–कश्मीरमा रहेका सुरक्षाकर्मी र सर्वसाधारणमाथि बारम्बार आक्रमण गर्दै आएको छ। यसै वर्ष अप्रिल २२ मा पहलगाममा भएको आक्रमणको जिम्मेवारी पनि टीआरएफले लिएको थियो, जसमा २६ जनाको ज्यान गएको थियो।”
अमेरिकी अधिकारीहरूका अनुसार यो आक्रमण सन् २००८ को मुम्बई आक्रमणपछि भारतमा भएको सर्वाधिक घातक आतंकी हमला मानिएको छ। त्यस आक्रमणमा लश्कर-ए-तैयबाका आतंककारीहरू संलग्न थिए।
विज्ञप्तिमा थप उल्लेख छ कि टीआरएफले विगत केही वर्षयता भारतीय सुरक्षाबलमाथि थुप्रै आक्रमणहरूको जिम्मेवारी लिएको छ, जसको पछिल्लो उदाहरण सन् २०२४ मा भएको आक्रमण हो। अमेरिकाले टीआरएफको गतिविधि क्षेत्रीय सुरक्षाका लागि मात्र नभई अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वका लागि समेत खतरनाक भएको जनाएको छ।
यस घोषणासँगै टीआरएफमाथि आर्थिक कारोबारमा प्रतिबन्ध, अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीमा रोक, र अन्य कूटनीतिक तथा सुरक्षासम्बन्धी प्रतिबन्धहरू लागू हुनेछ।
भारतले अमेरिकाको यस कदमको स्वागत गर्दै लामो समयदेखि माग गर्दै आएको सुरक्षा चिन्तालाई सम्बोधन भएको प्रतिक्रिया दिएको छ। भारतले टीआरएफलाई ‘कभर संगठन’ भन्दै लश्कर-ए-तैयबाका लागि नयाँ रूपमा उभिएको समूहको रूपमा चित्रण गर्दै आएको छ।
सुरक्षा विश्लेषकहरूका अनुसार अमेरिकाको निर्णयले आतंकवादविरुद्धको अन्तर्राष्ट्रिय सहकार्यलाई थप मजबुत पार्ने अपेक्षा गरिएको छ।
FACEBOOK COMMENTS