काठमाडौँ । भारतले अमेरिका र इरानबीच बढ्दो विवादका बीच इरानमा रहेका आफ्ना नागरिकलाई देश छाड्न आग्रह गरेको छ ।
तेहरानस्थित भारतीय दूतावासले जारी गरेको एडभाइजरीमा इरानको बदलिँदो परिस्थितिलाई ध्यानमा राख्दै त्यहाँ रहेका भारतीय विद्यार्थी, तीर्थयात्री, व्यवसायी तथा पर्यटकलाई उपलब्ध साधनमार्फत यथाशीघ्र इरान छाड्न सुझाव दिइएको छ ।
साथै, भारत सरकारले जनवरी महिनामा जारी गरेको पूर्वपरामर्शलाई पनि पुनः दोहोर्याएको छ । उक्त समयमा अली खामेनेई नेतृत्वको सरकारविरुद्ध भइरहेका प्रदर्शनमा कडाइ गरिएको थियो ।
दूतावासले इरानमा रहेका सबै भारतीय नागरिकलाई आफ्ना यात्रा तथा अध्यागमनसम्बन्धी कागजात- जस्तै राहदानी (पासपोर्ट) र परिचयपत्र सधैं आफूसँग सुरक्षित राख्न आग्रह गरेको छ । आपत्कालीन सहयोग आवश्यक परे दूतावाससँग तुरुन्त सम्पर्क गर्न पनि भनिएको छ।
क्षेत्रीय तनाव बढ्दै गइरहेका बेला भारतले आफ्ना नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै सतर्कता अपनाएको जनाएको छ ।

FACEBOOK COMMENTS