काठमाडौं । सांसदहरूले भारत र पाकिस्तानबीच जारी द्वन्द्वबारे सरकारको आधिकारिक धारणा माग गरेका छन् ।
प्रतिनिधिसभाको आज बिहीबारको बैठकमा सांसदहरूले यसबारे सरकारको स्पष्ट विचार आउनुपर्ने बताएका हुन् ।
सत्तारूढ नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले नेपालको परराष्ट्र नीति असंलग्न भए पनि आतङ्कवादका विषयमा स्पष्ट धारणा आवश्यक हुने विचार राखिन् ।
उनले भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेकाले यसको प्रभाव नेपालमा पनि पर्न सक्नेबारे सरकारको ध्यानाकर्षण गराइन् ।
उनले भारत र पाकिस्तानमा नेपालीहरू पनि रहेकाले विषम परिस्थितिमा राजनीतिक दलका शीर्ष नेताहरूले राष्ट्रिय एकता र मेलमिलापको नीतिअनुसार आफ्ना नागरिक जिउज्यानको सुरक्षामा ध्यान दिनुपर्ने बताइन् ।
‘नेपालको भूराजनीतिक संवेदनशीलता, खुला सिमानाका कारण राजनीतिक दलका शीर्ष नेताहरूमा विषम परिस्थितिमा राष्ट्रिय एकता र मेलमिलापको नीतिअनुसार आफ्ना नागरिकको जिउज्यानको सुरक्षा गर्न बेलैमा ध्यान जाओस्,’ सांसद यादवले भनिन्, ‘नेपालको परराष्ट्र नीति असंलग्न भए पनि आतङ्कवादका विषयमा स्पष्टताका साथ आफ्नो धारणा खुलाउन जरुरी छ । भारत र पाकिस्तानमा हाम्रो देशका नागरिकहरू पनि भएकाले उनीहरूको जिउज्यानको सुरक्षा गर्न आवश्यक छ ।’
यसैगरी, प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले भारत र पाकिस्तानबीच उत्पन्न पछिल्लो तनावबारे सरकारको आधिकारिक माग गरे ।
उनले भने, ‘पछिल्लो समय भारत र पाकिस्तानबीच उत्पन्न विवादको बारेमा नेपालको सरकारको आधिकारिक धारणा के हो ? माग गर्दछु ।’
माओवादीकै अर्की सांसद मिना तामाङले जम्मू–कश्मीरमा भएको आतङ्कवादी हमलापछि पाकिस्तानले लक्षित गरेको भारतीय शहरमा नेपालीहरू पनि आक्रमणमा पर्न सक्ने भएकाले उनीहरूको संरक्षण एवम् उद्धार गर्न आग्रह गरिन् ।
साथै, उनले दुई देशबीचको द्वन्द्वमा गोरखाली सेना प्रयोग नगर्नका लागि भारत सरकारसँग गम्भीर छलफल गर्न सरकारको ध्यान आकृष्ट गराइन् ।
‘पाकिस्तान र भारतको सीमा कश्मीरमा भएको दुईदेशीय साङ्घातिक हमलाले मानवीय क्षति हुनाका साथै आतङ्क फैलिएको छ । जसकारण पाकिस्तानले लक्षित गरेको भारतीय शहरमा नेपाली पनि उक्त घटनामा पर्न सक्ने भएकाले उनीहरूको संरक्षण एवम् उद्धारबारे र दुई देशबीचको लडाइँमा नेपाली गोरखाली सेना प्रयोग नगर्न भारत सरकारसँग गम्भीर छलफल र निकासबारे पहल गर्न सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु,’ उनले भनिन् ।
गत २२ अप्रिलमा भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी हमलामा नेपालका सुदीप न्यौपानेसहित २६ जनाको ज्यान गएको थियो । यसमा पाकिस्तानको संलग्नता रहेको दाबी गर्दै भारत जवाफी हमलामा उत्रिँदा दर्जनौँको ज्यान गएको छ । पाकिस्तानले पनि भारतीय क्षेत्रमा आक्रमण गरिरहेको छ ।
FACEBOOK COMMENTS